गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट रुकुम पश्चिममा निर्वाचित जनप्रतिनिधिहरूसँग अर्थमन्त्री जनार्दन शर्माले अन्तरक्रिया गरेका छन्।
मन्त्री शर्माले आफ्नो गृह जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिसँग शुक्रबार बिहान अर्थ मन्त्रालयमा भेट गरी अन्तर्क्रिया गरेका हुन्। सो अन्तर्क्रियामा रुकुम पश्चिमका नगरपालिका प्रमुख-उपप्रमुख, गाउँपालिका अध्यक्ष-उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्यलगायतको उपस्थिति थियो।
जनप्रतिनिधिहरूलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पालिका भित्रका स्थानीयलाई ठूला कामको सपना नदेखाउन आग्रह गरे। ‘तपाईंहरूले स्थानीय जनतालाई ठूला काम गर्ने भनेर सपना नबाँड्नुस्। त्यस्ता काम गर्नेतिर पनि नलाग्नुस्,’ उनले भने, ‘स्थानीय जनतालाई स-साना काम गरेरै खुसी बनाउनुस्। स्थानीयको दैनिकीसँग जोडिएको आवश्यकताहरू पुरा गरेर सबैको मन जित्ने काम गर्नुस्।’
उनले स्थानीयको आवश्यकताका आधारमा पहिचान भएका ठूला परियोजना प्रदेश र संघले बनाउने पनि जानकारी दिए। पालिका तथा वडा कार्यालय आउने स्थानीयलाई कामको सहजीकरण गर्न छुट्टै कर्मचारीको व्यवस्था गर्न पनि उनले निर्देशन दिएका छन्।
‘कार्यालयमा सेवाग्राहीलाई सहजता प्रदान गर्नको लागि एउटा कर्मचारी राख्नस्। कर्मचारीलाई सेवाग्राही के कामका लागि आएको हो, त्यो काम तुरुन्तै गराउन सहजीकरण गर्न लगाउनुस्। तपाईहरू (जनप्रनिधि) पनि नमस्ते खाएर बस्ने होइन। विकास निर्माणको कामको निरन्तर अनुगमन गर्नुस्।’
संघ र प्रदेशले बनाएका परियोजनाको निरन्तर अनुगमन, मूल्यांकन र खबरदारी गर्ने काम स्थानीय तहको भएकाले त्यस्तो जिम्मेवारी पूरा गर्न उनले निर्देशन दिएका छन्। त्यस्तै, प्रत्येक हप्ता जनताको बीच गएर अन्तर्क्रिया, भेटघाट र सामिप्यता बढाउन उनले सुझाव दिए।
मन्त्री शर्माले स्थानीयस्तरका बारेमा पर्याप्त ज्ञान राख्न, वडा सदस्यहरूलाई विभिन्न समिति बनाई जिम्मेवारी दिन, विकास योजनाका बारेमा जिल्लास्तरका कर्मचारीहरूसँग छलफल गर्न, जनप्रतिनिधिलाई नैतिक आचरणबारे प्रशिक्षण दिन, दुई वा सोभन्दा बढी पालिकास्तरमा समन्वय गरी काम गर्नुपर्ने लगायतका सुझाव दिए।
छलफलमा जनप्रतिनिधिहरूले बजेटको पर्याप्त, स्थानीय बासिन्दाको आवश्यकता लगायतका बारेमा जानकारी गराए।