खुकुरी रम मदिरा उत्पादक कम्पनी दी नेपाल डिस्टिलरिज प्रालिले फोहोर उत्पादनलाई आगामी तीन वर्षमा सतप्रतिशत शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ।
नेपालको पहिलो मदिरा उत्पादक कम्पनीले विश्व वातावरण दिवसको अवसरमा वातावरण संरक्षण तथा दीगो विकासका लागि आगामी तीन वर्षमा उत्पादन प्रक्रियामा निस्किने फोहोरलाई शून्यमा झार्ने प्रतिबद्धता जनाएको हो।
कम्पनीका महाप्रबन्धक सुभास लामिछानेले विज्ञप्ति जारी गर्दै प्रतिबद्धता जनाएका हुन्।
‘हामीले हाम्रा उत्पादन प्रक्रियाका क्रममा निस्किने फोहोरहरूलाई ९८ प्रतिशत व्यवस्थापन गर्न सफल भइसकेका छौं। यसलाई आगामी ३ वर्षभित्रमा सतप्रतिशत शून्यमा झार्ने र पुनः प्रयोग गर्ने अवस्था बनाउने प्रतिबद्धता गर्दछौं,’ उनले भनेका छन्।
सन् २०३२ सम्ममा सतप्रतिशत दीगो प्याकेजिङ कार्यान्वयनमा ल्याउने उनले बताए।
साथै वातावरणमा हुनसक्ने नकारात्मक प्रभावलाई कम गर्न निरन्तर विज्ञहरूसँग काम गरिरहेको उनले बताए।
‘हामी हाम्रा बोतलहरू पुनः प्रयोग गर्नेछौं। हाल हाम्रा उत्पादनमा प्रयोग हुने बोतलहरू संकलन गर्ने इकोसिस्टमको विकास गरिरहेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘अत्याधुनिक प्रविधिको सहयोगले बोतलहरू सफा गरी पुनः प्रयोग गर्ने थिति बसाल्ने काममा समेत हामी अग्रसर छौं। हाल नेपालमा यो अभ्यास धेरैजसो वियर उद्योगहरूले गरिरहेका छन्।’
ग्रिन इनर्जीमा काम गरिरहेको र तीन वर्षभित्रमा कार्यान्वयनको तहमा पुर्याइसक्ने कम्पनीले दाबी गरेको छ।
कम्पनीले विगत दुई वर्षदेखि नेपाली सेनासँग सहकार्य गरी हिमाल सरसफाइ अभियानमा काम गरिरहेको छ। आगामी दिनहरूमा पनि यो सहकार्य जारी राख्ने कम्पनीले प्रतिबद्धता व्यक्त गरेको छ।