हिमालयन डिष्टिलरी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायका शैक्षिक, स्वास्थ्य, खेलकुद, लैंगिक समानता, वातावरण जस्ता सामुदायिक क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ।
कम्पनीले आर्थिक वर्ष २०७७/०७८ मा शिक्षा क्षेत्रका लागि छुट्याएको रकम मध्येबाट समता शैक्षिक गुठीलाई २५ लाख रूपैयाँको सहयोग प्रदान गरेको छ।
समता शैक्षिक गुठीद्वारा अधिराज्यभर ८४ वटा विद्यालयहरू सञ्चालन भइरहेको छ। यहाँ कक्षा १ देखि स्नातकोत्तर सम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालित छन् र करिब ७० हजार विद्यार्थीहरट्ठ लाभान्वित भएको दाबी उक्त गुठीको रहेको छ।
यो गुठीले प्रति विद्यार्थी प्रति महिना एक सय रूपैयाँ मात्र शैक्षिक शुल्क लिएर समुदायका विपन्न वर्ग, दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरूका सन्तान, टुहुरा तथा सडक बालबालिकाहरूलाई अध्यापन गराइरहेको छ।
सो समता शैक्षिक गुठीलाई एक कार्यक्रम बीच हिमालयन डिष्टिलरीका सञ्चालक समिति अध्यक्ष अखिलेश्वर प्रसाद सिंहले सम्मानित व्यक्तित्व तथा वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको उपस्थितिमा गुठीका संस्थापक उत्तम कुमार सन्जेल र निर्देशक दिनेश सन्जेललाई २५ लाख रूपैयाँको चेक कम्पनीको सम्पर्क कार्यालय, जावलाखेल ललितपुरमा हस्तान्तरण गरेका हुन्। उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद पोखरेल र कम्पनी सचिव निशा निरौलाको समेत उपस्थिति थियो।