नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले युवा रोजगारी सिर्जना तथा उद्यमशीलता विकासका लागि स्थानीय तहसँग सहकार्य गर्ने बताएका छन्। महोत्तरी चेम्बर अफ कमर्सले बर्दिबासमा आइतबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष मल्लले स्वदेशमै रोजगारी सिर्जना गरेर युवा पलायन हुनबाट रोक्नुपर्ने समेत बताए।
युवा उद्यमशीलता तथा आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि प्राकृतिक श्रोतको उच्चतम प्रयोग, विदेशमा सिकेको सिपलाई नेपालमा प्रर्वद्धन गर्न नेपाल चेम्बर अफ कमर्सले सबै स्थानीय तहसँग सहकार्य गर्न चाहेको अध्यक्ष मल्ललको भनाइ छ।
उनका अनुसार विदेशबाट फर्किएका युवाहरूको लागत संकलन गरेर उनीहरूको सीपलाई राज्यले प्रोत्साहन गर्न नीतिगत व्यवस्था गर्न आवश्यक छ।
‘युवाहरूको सिपलाई एकीकृत गरेर औद्योगिक ग्राम बनाउन सकिन्छ। यसमा अन्तर्राष्ट्रिय कम्पनीलाई पनि प्रोत्साहन गर्न सकिन्छ र लगानी मार्फत विदेशमा सिकेको ज्ञान तथा सिपलाई उत्पादनसँग जोड्न सकिन्छ,’ उनले भने।
युवा स्वरोजगारी मार्फत आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि मुलुक भित्रका प्राकृतिक श्रोतको उच्चतम सदुपयोग गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिएका छन्। अध्यक्ष मल्लले महोत्तरीमा उत्पादित उखु, फलफुल लगायत अन्य उपभोग्य वस्तुको बजारीकरणका लागि जिल्ला चेम्बरले सहकार्य गर्ने समेत बताए।