पूर्वी पहाडी जिल्ला भोजपुरले विद्युत विस्तारमा गति लिँदै गएको छ।
यहाँका जनताले विद्युत् सेवाको उपभोग गर्न पाएको करिब ४० वर्ष पुग्यो।
वि.सं २०३८ मा सिक्तेल खोला जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत भोजपुर सदरमुकामका नागरिकले उपभोग गर्न गर्दै आएका थिए।
२५० किलोवाट क्षमताको उक्त जलविद्युत गृहमा उत्पादन भएको विद्युतले यहाँको आवश्यकतालाई परिपूर्ति गर्दै आएको थियो।
स्थानीयस्तरमा उत्पादन भएको यो विद्युत गृह तत्कालीन विद्रोही नेकपा (माओवादी)ले भत्काइदिएपछि लामो समय भोजपुर अन्धकारमयसमेत बनेको थियो। यहाँ यो गृहबाहेक विद्युतको अन्य कुनै विकल्प पनि थिएन।
मर्मत गरेर सञ्चालनमा ल्याइएको गृहले सोचेअनुरूपले काम नगरेपछि यहाँ केन्द्रीय प्रसारण लाइनको विस्तारको पहल थलिएको हो।
त्यो अवधिमा केही स–साना विद्युत आयोजना सञ्चालन थिए।
ग्रामीण भेगका अधिकांश स्थानीयले भने सौर्यबत्ती, टुकीबत्ती, दियालोलगायत बालेर आफ्नो जनजीवन चलाउँदै आएको अवस्था देखिन्छ। भोजपुरको विद्युतको इतिहास बोकेको सो विद्युत गृह भने हाल बन्द अवस्थामा छ।
विसं २०६७ कात्तिक १९ देखि हिले–भोजपुर ३३ केभीए राष्ट्रिय प्रसारण लाइन भोजपुरमा जोडिएको हो।
नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार केन्द्रीय विद्युतको प्रसारण लाइनबाट यहाँका ५० दशमलव ३३ प्रतिशत जनता मात्र लाभान्वित छन्।
हाल जिल्लाका सबै स्थानीय तहमा केन्द्रीय प्रसारण लाइन विस्तारको काम भइरहेको छ। काममा ढिलाइ हुँदा विद्युत प्राधिकरणले गरेको कामप्रति यहाँका स्थानीय तह तथा नागरिक असन्तुष्ट बनेका छन्।
केन्द्रीय प्रसारण लाइन यहाँका प्रायःसबै स्थानीय तहमा पुर्याउने प्रयास भइरहेको छ।
पूर्ण रूपमा काम भने कुनै पनि स्थानीय तहमा भएको देखिँदैन। सबभन्दा बढी टेम्केमैयुङ गाउँपालिकामा ९५ प्रतिशत मानिसले केन्द्रीय प्रसारण लाइनको विद्युत उपभोग गरिरहेका छन्।
यो गाउँपालिका उज्यालो गाउँपालिका घोषणा भइसकेको छ। यो प्रदेश १ उज्यालो बन्ने पहिलो स्थानीय तह पनि हो।
दोस्रोमा केन्द्रीय प्रसारण लाइन प्रयोग गर्नेमा भोजपुर नगरपालिका रहेको छ।
यी दुई स्थानीय तहमा पनि पूर्णरुपमा केन्द्रीय प्रसारण लाइन विस्तार हुन् बाँकी छ। यहाँका केही नागरिकले स्थानीयस्तरका साना जलविद्युत तथा सोलारको प्रयोग गरिरहेको अवस्था रहेको छ।
थपिँदैछन् जलविद्युत आयोजना
भोजपुरमा पनि जलविद्युतका क्षेत्रमा लगानी बढिरहेको छ। इष्टर्न हाइड्रोपावर र टक्सार पिखुला खोला हाइड्रो पावरको निर्माण सम्पन्न भएर यसको उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
इष्टर्नबाट पाँच र टक्सार पिखुवा खोला हाइड्रोपावरबाट आठ गरी दैनिक १३ मेगावाट विद्युत उत्पादन भइरहेको नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रले जनाएको छ।
यी विद्युत गृहबाट उत्पादन भएको विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ।
उत्तरी क्षेत्रमा अवस्थित चिर्खुवा खोला–अपर र लोअर दुई आयोजना निर्माण भइरहेका छन्। चार दशमलव सात मेगावाटको अपर चिर्खुवाको काम ८० प्रतिशत बढी काम सकिएको निर्माण कम्पनीले जनाएको छ।
यसको पाइपलाइन तीन किलोमिटर रहेको छ। त्यस्तै चार दशमलव छ मेगावाटको लोअर इर्खुवाको पनि काम सुरू हुने चरणमा छ।
त्यस्तै, जिल्लाको सबभन्दा ठूलो इर्खुवा खोला जलविद्युत आयोजनाको काम पनि तीव्र गति भइरहेको छ।
१५ मेगावाट क्षमता रहेको यो आयोजना दुई वर्षअघिबाट सुरू भएको हो।
दुई दशमलव पाँच किलोमिटर पाइपलाइन भएको यस आयोजनाको दुई दशमलव तीन किलोमिटर पाइप लाइन सुरूङ रहेको छ।
सोही खोलामा १५ मेगावाट क्षमताको अपर इर्खुवा खोला आयोजना निर्माणको तयारी भइरहेको लगानीकर्ताले बताएका छन्।
त्यस्तैगरी षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाको सिमानामा पर्ने श्याम खोलाबाट पनि सात मेगावाट क्षमताको विद्युत आयोजना सञ्चालनको तयारी भइरहेको छ।
यीबाहेक जिल्लामा सानाठूला गरी दुई दर्जन बढी आयोजना सञ्चालन तथा निर्माणको तयारीमा रहेको विद्युत क्षेत्रमा काम गर्दै आएका कम्पनीले जनाएका छन्।