मधेस प्रदेश सरकारले कक्षा १२ मा अध्ययनरत छात्रालाई कम्प्युटर एवं ल्यापटप वितरण गर्ने भएको छ।
प्रदेश सभामा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शैलेन्द्र साहले यस्तो घोषणा गरेका हुन्।
प्रदेशका समुदायिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्रालाई कम्प्युटर प्रविधिमा पहुँच पुर्याउन १/१ थान कम्प्युटर एवं ल्यापटप उपलब्ध गराइने उनले बताए।
यस कार्यक्रमका लागि ७७ करोड ४० लाख बजेट विनियोजन गरिएको छ।
सामाजिक रूपान्तरण तथा लैंगिक सशक्तीकरणका लागि संचालित मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छोरी बीमा, छात्रवृत्ति, लोकसेवा तयारी कक्षा, साइकल वितरण लगायत छोरीमाथि समाजमा रहेको विभेद अन्त्यका लागि विभिन्न कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए।
त्यसैगरी, बेटी बचाउ बेटी पढाउ अभियान अन्तर्गत ८ कक्षामा अध्ययनरत छात्रालाई साइकल खरिदका लागि सोझै उनको खातामै पैसा पठाइनेछ।
सम्बन्धित विद्यालयको प्रधानाध्यापकको सिफारिसमा छात्राको खातामा उक्त अनुदान रकम हस्तान्तरण गरिने अर्थमन्त्री साहले बताए। यसअघि प्रदेश सरकारले आफैंले खरिद गरी छात्रालाई साइकल वितरण गर्दै आएका थिए।