कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ।
बुधबार आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले संसदमा बजेट प्रस्तुत गरेका हुन्।
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँ विनियोजना गरेको छ। जसमध्ये चालुतर्फ ९ अर्ब १६ करोड ९९ लाख १० हजार छ भने पुँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार रुपैयाँ छ।
कर्णाली प्रदेश सरकाले आगामी आर्थिक वर्षको बजेट बहुआयामिक गरिबी न्यूनीकरण, स्वास्थ्यमा तीव्र विकासको उद्देश्यसहित ल्याएको छ।
सडक, खानेपानी, सिँचाइ, स्वास्थ्यमा तीव्र विकास गर्ने, बहुआयामिक गरिबी न्यूनीकरण गर्ने, कर्णालीलाई लगानी प्रदेशको रूपमा विकास गर्ने, विभेद अन्त्यका लागि सबै वर्गको पहुँच सुनिश्चित गर्ने आर्थिक वर्ष ०७९/८० को वार्षिक बजेटको उद्देश्य छ।
शिघ्र प्रतिफल प्राप्त हुने र अधुरा आयोजना पूरा गर्ने, सवल र दक्ष जनशक्ति उत्पादन, स्वावलम्बी र सीपमूलक जनशक्ति उत्पादन गर्न आधुनिक पाठ्यसामग्री निर्माण, मौसमअनुकूल कृषि बालीको वृद्धि, उद्योगमार्फत् तुलनात्मक लाभका वस्तु उत्पादन, पर्यटकीय पूर्वाधारमा लगानी जस्ता विषय बजेटको प्राथमिकतामा छन्।
कर्णाली प्रदेश सडक गुरूयोजना निर्माण गर्ने, गुरूयोजनाको प्राथमिकताका आधारमा योजना बनाइने, प्रदेशको विकासको सम्भावनाको रूपमा रहेको भेरी करिडोरको तीव्र निर्माणका लागि संघीय सरकारसँग समन्वय, प्रत्येक जिल्लामा एउटा सडकलाई प्रदेश गौरवको आयोजनाको रूपमा लिने, क्रमागत, अधुरा र रूग्ण आयोजनालाई प्राथमिकता दिएर बजेट विनियोजन जस्ता कार्यक्रम आर्थिक वर्ष ०७९/८० को बजेटमा छन्।
यो बजेट कर्णाली प्रदेशको पहिलो सरकारको अन्तिम हो।
हालसम्मका चारवटा (पहिलो चौमासिक बजेटबाहेक) आर्थिक वर्षका बजेटमा कुल ९८ अर्ब ६१ करोड ६६ लाख ३५ हजार रुपैयाँ विनियोजन भएको थियो।
चार आर्थिक बर्षको राजस्व संकलन १ अर्ब ३४ करोड ४३ लाख भएको छ।