बुटवल पावर कम्पनी लिमिटेडसँगको साझेदारीमा चिनियाँ लगानीमा बन्न लागेको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् विकास सम्झौता मन्त्रिपरिषद बैठकमा पेश हुने भएको छ।
केही दिनअघि ऊर्जा मन्त्रालयका सहसचिव मधु प्रसाद भेटवाल र बुटवल पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तर कुमार श्रेष्ठले विद्युत् विकास प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए।
१ सय ३५ मेगावाटको मनाङ मर्स्याङ्दी हाइड्रोइलेक्ट्रिकल प्रोजेक्ट निर्माणको लागि यस्तो प्रारम्भिक सम्झौता गरिएको हो।
‘पहिलो चरणमा यो आयोजनाको सम्भाव्यता अध्ययन लगायतका काम हुन बाँकी छ,’ बुटवल पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तर कुमार श्रेष्ठले भने, ‘मन्त्रिपरिषद वैठकले स्वीकृति दिएसँगै यसको काम अगाडि बढ्नेछ।’
बुटवल पावर कम्पनीले यसअघि नै चिनियाँ कम्पनीहरू सिचुवन प्रोभिन्सल इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेड (एमसीआइजी), चेङ्गदु सिंचेन इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेड र छिमयूआन इन्जिनियरिङ कन्सल्टिङ कम्पनी लिमिटेड (क्यू वाइ इसी) बीच नेपालका विभिन्न जलविद्युत् आयोजना विकास सम्झौता भइसकेको छ।
चिनियाँ कम्पनीसँगको साझेदारीमा पहिलो चरणमा मनाङ मर्स्याङ्दी हाइड्रोइलेक्ट्रिकल प्रोजेक्टको विकास गरिन लागेको हो।
यो आयोजनामा बुटवल पावर कम्पनीको २२.४० प्रतिशत, एमसीआइजी इन्टरनेशनल लिमिटेडको ४९.४७ प्रतिशत, छिङचोङ इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनीको १६.४९ प्रतिशत र क्यू वाइ इसी इन्टरनेशनल कम्पनी लिमिटेडको ११.६४ प्रतिशत सेयर स्वामित्व रहनेछ।
यो आयोजना २०८१ सम्ममा निर्माणसक्ने लक्ष्य राखिएको छ।
चिनियाँ साझेदारीमा त्यसपछि १३९ मेगावाटको लोअर मर्स्याङ्दी र ३ सय २७ मेगावाटको अपर मर्स्याङ्दी जलविद्युत् आयोजनाको विकास गरिनेछ। यी आयोजनाहरुबाट कुल ६ सय १ मेगावाट विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ।
५ वर्षमा २ देखि ३ अर्ब डलर (करिब ३ खर्ब रुपैयाँ) लगानीमा कम्तिमा एक हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ बुटवल पावर कम्पनी र चिनियाँ कम्पनीहरुबीच साझेदारी गरिएको छ।