स्वदेशी चियाको आन्तरिक बजार प्रवर्द्धन गर्ने लक्ष्यसहित बुटवलमा शुक्रबारदेखि नेपाली चियाको बृहत् राष्ट्रिय प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम सुरू भएको छ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा सुरू भएको प्रदर्शनीमा देशभरिका चिया उत्पादक किसान, उद्योगी तथा व्यवसायी सहभागी छन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफूले नेपालमै उत्पादित चिया खाने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै प्रदर्शनीको उद्घाटन गरेका थिए।
प्रदर्शनीमा चिया उत्पादन तथा बजारीकरणमा लामो समयदेखि नेपालमा काम गर्दै आएका निजी क्षेत्रका नेपाल टि एसोसिएसन, हिमालयन अर्थोडक्समा टि प्रोड्युसर एसोसिएसन नेपाल, नेपाल टि प्रोड्युसर एसोसिएसन, केन्द्रीय चिया सहकारी संघ, स्पेसियालिटी टि एसोसिएसन नेपालमा आवद्ध एक सय बढी व्यवसायीहरूबाट उत्पादित चियाका ब्राण्डहरू राखिएका छन्।
कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले स्वदेशी उत्पादनमूलक उद्योग स्थापनाका लागि प्रदेश सरकार जग्गा उपलब्ध गराउन समेत तयार रहेको बताए।
‘बजार प्रवर्द्धनमात्र भनेर पुग्दैन, आन्तरिक उत्पादन पनि बढाउनुपर्छ, तपाईंहरू उत्पादनको योजना लिएर आउनुस्, लुम्बिनी प्रदेश सरकारले स्थानीय तहसँगको समन्वयमा जग्गा उपलब्ध गराउन तयार छ’,उनले भने।
लुम्बिनी प्रदेश सरकारले स्वदेशी उत्पादनमात्र प्रयोग गर्ने नीति लिएको उल्लेख गर्दै उनले विदेशी उत्पादन निरूत्साहित गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।
उनले व्यवसायीहरूलाई लुम्बिनी प्रदेशको गुल्मी लगायतका जिल्लामा उत्पादित कफीको प्रवर्द्धन र बजारीकरण गरिदिन आग्रह समेत गरे।
कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक डा. विष्णु प्रसाद भट्टराईले आम नागरिकलाई चिया पिउने सही तरिका बताउने र नेपाली चियाको बारेमा बजार विस्तार गर्ने उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको बताए।
नेपाली उत्पादन नेपालमा खपत भएर आर्थिक रूपमा सबल हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ।
विजनेश हबका रूपमा बुटवललाई चिनाउने रूपमा कार्यक्रम गरिन लागेको उनले बताए।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक डा. दिपक खनालले नेपालबाट ठूलो परिमाणमा चिया निर्यात हुने गरेको बताउँदै बोर्डले स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि पहिलोपल्ट चिया प्रदर्शनी कार्यक्रम आयोजना गरेको जानकारी दिए।
बोर्डका कृषि विकास अधिकृत चन्द्र पुरीले स्वदेशी उत्पादनको प्रयोगलाई बढाउन, स्वदेशी चियाको आम उपभोक्तामाझ जनचेतना जगाउन र आम नेपालीमा स्वदेशी उत्पादनको प्रयोग गर्ने बानी बसाल्नका लागि पनि यो प्रदर्शनी सहयोगी हुने विश्वास व्यक्त गरे।
नेपाली चियाले विश्व बजारमा निकै ख्याती कमाएको भएपनि देशकै धेरै ठाउँमा पुग्न सकेको छैन।
सिटिसी र अर्थोडक्स चिया मध्ये सिटिसी उपभोक्ताहरूमाझ माग बढी भएको चिया उत्पादकहरू बताउँछन्।
देशका ७० जिल्लामा अर्थोडक्स चियाको बारेमा जानकारी नपाएको भेटिएको एक अनुसन्धानमा देखिएको सो अवसरमा जानकारी गराइएको थियो।
सिटिसी चिया उत्पादनको ५० प्रतिशतले आन्तरिक माग पुग्ने गरेको र बाँकी विदेश निर्यात हुन्छ भने नेपाली अर्थोडक्स चिया ८० प्रतिशतभन्दा बढी विदेश जाने गरेको छ।
नेपाली चियाको गुणस्तर र स्वादका हिसाबले विश्वमै उत्कृष्ट मानिन्छ भने आर्थिक वर्ष २०७७/०७८ मा नेपालले तीन अर्ब ७९ करोड रुपैयाँ मूल्य बराबरको चिया निर्यात गरेको छ।
चियाको इतिहासलाई केलाउँदा इलामको तत्कालीन बडाहाकिम गजराज सिंह थापाले वि.सं १९२० मा इलाममा चिया रोपण गरेपछि नेपालमा चिया खेती सुरू भएको मानिन्छ।
नेपाली चियाको इतिहास १५० वर्षभन्दा पुरानो छ। आव २०७७/०७८ मा नेपालमा १६ हजार ९१७ हेक्टरमा चिया रोपण भएर २३ हजार ७४५ मेट्रिक टन तयारी चिया उत्पादन भएको थियो।
१६ हजार बढी चिया किसान र ६० हजारभन्दा बढी श्रमिकहरू चियाको विभिन्न मूल्य श्रृंखलामा संलग्न छन्।
अहिलेकै चियाको उत्पादन र विदेश निर्यातको अनुपात हेर्दा नेपालबाट वार्षिक १० अर्बको निर्यात मूल्य बनाउने सम्भावना रहेको छ।
प्रदर्शनीमा ३० वटा स्टलहरू राखिएका छन्। कार्यक्रम शनिबारसम्म चल्ने छ।