बैतडीको विद्युत सेवा चार दिनका लागि बन्द भएको छ।
नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टका अनुसार असार ६ सोमबारदेखि असार १० गतेसम्म चार दिन बैतडीमा विद्युत सेवा अवरूद्ध हुने भएको हो।
विद्युत सवस्टेसन मर्मत गर्ने कार्य सुरू हुने भएकाले विद्युत सेवा अवरूद्ध भएको छ।
उनले भने, ‘जिल्लामा नयाँ विद्युत सवस्टेसन राख्नुपर्ने भएकाले विद्युत सेवा अवरूद्ध भएको हो। मर्मत तथा नयाँ सवस्टेसन राख्न चार दिन नै लाग्ने अनुमान छ, त्यसैले उक्त अवधिमा विद्युत सेवा अवरूद्ध हुन्छ।’
सवस्टेसन पुरानो हुँदा बेला-बेलामा विद्युत सेवा अवरूद्ध हुने गरेको र अब त्यस्तो नहोस् भन्नका सवस्टेसन नयाँ राख्ने प्रक्रिया सुरू भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ।
आज बिहान ७ बजेदेखि नै प्राविधिक कर्मचारी मर्मतका लागि खटिएका र बिहानैदेखि विद्युत सेवा अवरूद्ध भएको छ। यद्यपि वैकल्पिक लाइनमार्फत् विद्युत सेवा सञ्चालन गर्न उपाय खोजिराखेको भट्टले बताए।
उनले भने, ‘सम्भव भयो भने दिउँसोको केही घण्टा सेवा दिन्छौं तर त्यो सम्भव हुन्छ भन्ने यकिन छैन।’
विद्युत सेवा अवरूद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति विद्युत प्राधिकरणले क्षमासमेत मागेको छ।