विर्तामोड उद्योग वाणिज्य संघले बुधबार दिउँसो पक्राउ परेका संघका अध्यक्ष, उपाध्यक्षसहित सबै पदाधिकारी र व्यवसायीलाई अविलम्ब नि:शर्त रिहा गर्न माग गरेको छ।
अध्यक्ष, उपाध्यक्षसहित सबैलाई नि:शर्त तुरून्त रिहा गर्न संघका महासचिव अर्जुन मैनालीले प्रेस विज्ञप्ति जारी गर्दै माग गरेका हुन्।
संघले व्यवसायीको पक्षमा माग राख्दा प्रहरीले संघका अध्यक्ष प्रकाश शिवाकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, सह–कोषाध्यक्ष राधिका चुडाल हुमागाईंसहित ११ जना व्यवसायीलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।
‘अध्यक्ष, उपाध्यक्ष र सह–कोषाध्यक्षसहित केही व्यवसायीहरूलाई पक्राउ गरेकोप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
व्यवसायीले विद्युत मिटर माग्दा त्यसलाई संवाद र सहमतिको तर्फबाट निराकरण गर्नुको साटो प्रहरी प्रशासनले धरपकड गरेर नियन्त्रणमा राखेको विज्ञप्तिमा आरोप लगाइएको छ।
विर्तामोडको बुधबारे हटियाका व्यवसायीलाई विद्युत मिटर उपलब्ध गराएर व्यवसायीका मागलाई सम्बोधन गर्न स्थानीय सरकारलगायत सम्पूर्ण सरोकारवाला निकायलाई समेत आग्रह समेत गरिएको छ।
पक्राउ परेका सबैलाई तत्काल रिहा नगरे आन्दोलन थप सशक्त बनाउने बुधबार बसेको आकस्मिक बैठकले निर्णय गरेको संघका जनसम्पर्क उपाध्यक्ष नैनकला भट्टराईले बताएकी छन्।