बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीसहित पक्राउ परेका ११ जनालाई प्रहरीले बुधबार साँझ रिहा गरेको छ।
उनीहरूलाई सर्वपक्षीय छलफलपछि रिहा गरिएको हो।
बिर्तामोडका डिएसपी रुँगमबहादुर कुँवरका अनुसार पक्राउ परेका सबैलाई वाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्की र कुमार भट्टराईको जिम्मामा रिहा गरिएको हो।
बुधबार हटियाका व्यापारीलाई विद्युत मिटर माग गर्दै आन्दोलनरत उनीहरूलाई बिर्तामोड प्रहरीले दिउँसो नियन्त्रणमा लिएको थियो। ६ घण्टापछि उनीहरूलाई प्रहरीले रिहा गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा भएको सर्वपक्षीय छलफलमा उनीहरूलाई शान्तिपूर्ण आन्दोलन गर्न स्थानिय प्रशासनले आग्रह गरेको छ। आफ्ना माग शान्तिपूर्ण रूपमा राख्न पाउने अधिकार संविधानमै उल्लेख भएकाले कानुनद्धारा बर्जित कुनै पनि गतिविधि नगर्न व्यवसायीलाई आग्रह गरेको हो।
छलफलमा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललगायत राजनीतिक दलका प्रतिनिधि र व्यवसायी पनि सहभागी थिए।