एनसेल आजियाटाले काठमाडौंको महाराजगञ्जमा पूर्ण रुपमा महिला कर्मचारीहरूद्वारा संचालित एनसेल सेन्टर संचालनमा ल्याएको छ।
महिला कर्मचारीहरूद्वारा व्यवस्थापन तथा संचालन गरिएको यस एनसेल सेन्टरको सुरुवातले समानताको हिसाबले समाजमा महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने कम्पनीले विश्वास लिएको छ।
एनसेलको यो पहल तथा अवधारणा कम्पनीले महिला सशक्तिकरण, लैंगिक समानता र समुदाय विकासको लागि गरेको योगदानको एक प्रमाण हो। यसका साथै यो अवधारणा एनसेलको विविधता, समानता र समावेशिता (डिइआई) मिशन अनुरुप छ जसले कार्यस्थलमा विविधता, समानता र समावेशिताको दृढतापूर्वक प्रोत्साहन गर्छ।
सम्पूर्ण रुपमा महिला कर्मचारीहरूबाट संचालित एनसेल सेन्टर संचालनमा ल्याइएकोबारे एनसेलका मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले भने, 'महाराजगञ्जमा पूर्ण रुपमा महिला कर्मचारीहरूद्वारा व्यवस्थापन गरिएको एनसेल सेन्टर संचालनमा ल्याउन पाउँदा हामी हर्षित छौं। यो कदमले एनसेलको डिइआई अर्थात विविधता, समानता र समावेशितालाई बढावा दिने नीतिमा ठूलो महत्व राख्छ। कार्यस्थलमा विविधताको समर्थन जस्ता रणनीति र अभ्यासहरूले कम्पनीलाई प्रतिस्पर्धात्मक लाभ हासिल गर्नमा सहयोग पनि मिल्छ।'
त्यसैगरी, एनसेलका ग्राहक सेवा प्रबन्धक ज्योति दाहालले भनिन्, 'यस अघि टेलिकम क्षेत्रमा ग्राहक सेवामा धेरै जसो पुरुषहरूको सहभागिता हुन्थ्यो। विगत ३-४ वर्षमा यस क्षेत्रमा लैंगिक समानताका लागि निरन्तर प्रयासहरू भएका छन्। दूरसञ्चार क्षेत्रमा सेवा दिने परिपेक्षमा हेर्ने हो भने ग्राहक सेवा र अनुभवका हिसाबले राम्रै विकास भएको छ। लैंगिक समानताले मात्र व्यवसाय थप सुदृढ हुन सम्भव छ।'
महिला कर्मचारीहरूद्वारा संचालित नयाँ एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरूका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरू समेत लिन सक्छन्। यसैगरी ग्राहकहरूले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड, सिम तथा मोबाइल नम्बर परिवर्तन, सियुजी नम्बरहरूको आवश्यक फेरबदल, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ सुरू, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका अन्य ग्राहक सेवाहरू प्राप्त गर्न सक्छन्।
यो एनसेल सेन्टर संचालनमा ल्याइएको अवसरमा उक्त सेन्टरमा पुग्ने ग्राहककालागि एक हप्ताको विषेश अफर पनि रहेको छ। अफरअन्तर्गत सो सेन्टरबाट आफ्नो ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनस प्राप्त गर्नेछन्।
यस सेन्टरबाट गरिने प्रत्येक ५० रुपैयाँको रिचार्ज बराबर ग्राहकले २० रुपैयाँको रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त गर्दछन्। यसको अर्थ १०० रुपैयाँको रिचार्ज गर्ने ग्राहकले २० रुपैयाँको दुई वटा रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त गर्दछन्। त्यस्तै, २०० रुपैयाँ रिचार्ज गर्ने ग्राहकले २० रुपैयाँको चार वटा रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त गर्नेछन्।