संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन उद्योगलाई सुधार गर्न चाँडै पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्ने बताएका छन्।
बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको सिमफोजिम पार्टनरसिप रेजिलेन्ट टुरिजम कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरूसँग पर्यटन पुनरुत्थानका लागि गर्नुपर्ने सुझाव लिइसकेकाले सुझावको आधारमा पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्ने तयारी मन्त्रालयले गरेको बताए।
उनले पर्यटन पुनरुत्थान कार्यक्रम घोषणाले कोरोना महामारीबाट थला परेको पर्यटन उद्योगको सुधार र पर्यटन प्रवर्द्धन हुने दाबी गरे।
मन्त्री श्रेष्ठले पर्यटन पुनरुत्थान कार्यक्रमलाई राष्ट्रिय अभियानको रूपमा नै अगाडि बढाउने मान्यतामा आफू रहेको बताए।
पर्यटनमन्त्री श्रेष्ठले अर्थतन्त्रमा आइपरको कठिनाई तथा भविष्यमा आउने कठिनाइलाई समेत अनुमान गरेर पर्यटन उद्योगलाई कम प्रभाव पार्ने गरी पर्यटन क्षेत्रको दीगो विकास गरी पर्यटकबाट बढीभन्दा बढी आयआर्जन गर्ने र रोजगारी सिर्जना कसरी गर्ने विषयमा मन्त्रालय गम्भीर रहेको बताए।
उनले कोभिड महाकारीको कारण पर्यटन क्षेत्रमा आएको शिथिलता एवम् कठिनाइका बाबजुद पनि पर्यटन उद्योगलाई आन्तरिक पर्यटनले निकै टेवा पुर्याएको बताए।
मन्त्री श्रेष्ठले अब आन्तरिक पर्यटकलाई समेत समग्र पर्यटकको दीगो विकासको आधार स्तम्भको रूपमा विकास गरी पर्यटन क्षेत्रको विकास गर्ने अवधारणा बनाउन आवश्यक रहेको बताए।
नेपालले भारत, चीन, बंगलादेश लगायतका छिमेकी देशहरूबाट आउने पर्यटकको प्रवर्द्धन गरी पर्यटन क्षेत्रलाई सुदृढ बनाउन आवश्यक देखिएको भन्दै मन्त्री श्रेष्ठले सार्क देशबाट गुणस्तरीय पर्यटन आगमन एवम् क्रस बोर्डर पर्यटनको लागि समेत अधिक प्रयास गर्नु आवश्यक रहेको बताए।