भारतीय रेल्वे कटिहार डिभिजनका डिभिजन प्रबन्धक (मेनेजर) एस के चौधरीले विराटनगर-वथनाह कार्गो रेल्वे छिट्टै सञ्चालनमा ल्याउने बताएका छन्।
भारतको वथनाहबाट मोरङको विराटनगरसम्म निर्माणको अन्तिम चरणमा पुगेको मालवाहक रेल्वे सञ्चालन पूर्व तयारीका सम्बन्धमा उद्योग संगठन मोरङमा भएको छलफलमा उनले यस्तो बताएका हुन्।
छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले मिरगञ्ज पुलमा अवरोधका कारण मालवाहक सवारीसाधन पुनः रुट गर्दा थप आर्थिक भार खेपिरहेका उद्योगीलाई मालवाहक रेल सञ्चालनले राहत दिने बताए ।
उनले यस क्षेत्रबाट भइरहेको नेपाल-भारतबीचको व्यापार अभिवृद्धिमा यो परियोजना कोशेढुंगा सावित हुने बताए। साथै, उनले सानातिना अवरोध तत्काल समाधान गरी मालवाहक रेल सञ्चालनमा ल्याउन भारत र नेपालका अधिकारीलाई आग्रह गर्दै निजी क्षेत्रबाट सहजीकरण गर्न उद्योग संगठन मोरङ तयार रहेको बताए।
चौधरीले १८.६ किलोमिटर लम्बाइ भएको वथनाह-विराटनगर रेल्वेको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्।
नेपाल र भारत सरकारबीच प्राविधिक र प्रशासनिक प्रकृया पूरा भएको १० देखि १५ दिनमा कार्गो रेल सञ्चालनमा ल्याउन सकिने उनको भनाइ छ।
उनले जोगवनीमा रेल्वे रिपेयरिङ सेन्टरको निर्माणका लागि भारतीय रेल्वे मन्त्रालय समक्ष आवश्यक बजेटका लागि अनुरोध गरेको जानकारी दिँदै उक्त सेन्टरको निर्माण पश्चात अन्य स्थानका लागि नयाँ प्यासेन्जर रेल थपिने जानकारी दिए।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दुई देशिय व्यापार विस्तारका लागि महत्वपूर्ण कार्गो रेल सञ्चालनमा ल्याउन महानगरपालिकाका तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे। उनले नेपाल सरकारका तर्फबाट गर्नुपर्ने प्राविधिक र प्रशासनिक प्रकृया पूरा गर्न प्रधानमन्त्री समक्ष पहल गर्ने समेत बताए।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले निर्माणको क्रममा देखिएका बाधाहरू समाधानमा मोरङ प्रशासनको तर्फबाट पूर्ण सहयोग रहने बताए।
छलफलमा विराटनगर भन्सारका प्रमुख अधिकृत तारा प्रसाद सापकोटाले मिरगंज पुलका कारण आयात-निर्यातमा समस्या आउँदा राजस्व संकलन समेत प्रभावित भएको जनाउँदै कार्गो रेल सञ्चालनमा ल्याउन भन्सारको सहयोग रहने बताए।
नेपालको रेल विभागका इन्जिनियर रोशन कुमार देवले दुवै देशका प्राविधिक टोलिले निर्माणाधिन परियोजनाको प्राविधिक पक्ष परीक्षण गरी अन्य प्रशासनिक प्रकृया पूरा गरेपश्चात विराटनगर वथनाह रेल सञ्चालनमा आउने बताउँदै त्यसको लागि तयारी भइरहेको जानकारी गराए।
संगठनका वरिष्ठ उपाध्क्ष प्रदिप मुरारकाले यस क्षेत्रका इडिवल आयल उत्पादन गर्ने उद्योगहरूका कच्चा पदार्थ स्टोर गर्न आफ्नै खर्चमा टेंक निर्माण गर्न तयार रहेको बताए। उनले त्यसका लागि सहजीकरण गरिदिन डिभिजनल रेल्वे मेनेजर समक्ष अनुरोध गरे।
संगठनका पूर्व अध्यक्ष किशोर प्रधान र अशोक मुरारकाले जोगवनी रेल्वे यार्डमा पानि जम्नुका साथै नेपालको मालसामान रातिका समयमा अनलोड गर्न समस्या भइरहेको बताए।
संगठनका पूर्व उपाध्यक्ष एवम् उद्योगी राकेश सुरानाले नेपालबाट भारतको विभिन्न स्थानमा उपचार गराउन, अध्ययन गर्न र धार्मिक प्रयोजनका लागि यस क्षेत्रबाट जाने यात्रुहरूको संख्या अत्यधिक रहेकाले थप गन्तव्य पहिचान गरी नयाँ रेल थप्नु पर्नेमा जोड दिए।