ह्याम्स अस्पतालले आइभिएफ सेवा सञ्चालन गरेको छ। धुम्बाराहीमा रहेको अत्याधुनिक भवनबाट ह्याम्स अस्पतालले आइभिएफ सेन्टर सञ्चालनमा ल्याएको हो।
अस्पतालको २५ औं वार्षिकोत्सवको आयोजना पारेर अस्पतालले ह्याम्स आइभिएफ सेन्टर सञ्चालनमा ल्याएको अध्यक्ष आरएस भण्डारीले जानकारी दिए।
मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले ह्याम्स आइभिएफ सेन्टर र ह्याम्स अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
सन्तान नभएका दम्पत्तिलाई अब सर्वसुलभ मूल्यमा आइभिएफ सेवा प्रदान गरिने भण्डारीले बताए। डाक्टर भोला रिजाल र पदमराज पन्तको नेतृत्वले ह्याम्स आइभिएफ सेन्टर सञ्चालन गर्नेछन्। दुबै डाक्टर महिला रोग तथा प्रसुति सेवा र आइभिएफ विशेषज्ञ हुन्।
ह्याम्स अस्पतालले बच्चादेखि वृद्धसम्मका सबै रोगीहरूलाई उपचार गर्दै सेवाहरू प्रदान गरिरहेको छ। 'हामीले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सेवा दिइरहेका छौं,' अध्यक्ष भण्डारीले भने, 'त्यस अनुसार मूल्य पनि निकै कम छ।'
पछिल्लो समय नेपालमा हेल्थ्य केयर सेन्टर (स्वास्थ्य सेवा केन्द्र)ले फड्को मारेको छ। यसको बावजुत थुप्रै मानिसहरू उपचारका लागि भारत लगायतका देशमा जाने गरेका छन्। अध्यक्ष भण्डारीका अनुसार ह्याम्स अस्पतालले दिने सेवा विदेशीको भन्दा कम छैन।
ह्याम्स अस्पताल १०० शैयाको विशिष्टिकृत अस्पताल हो। २५ वर्ष अघि मुलुककै अग्रणी चिकित्सकहरूद्वारा सुरू गरिएको यस अस्पतालमा चिकित्साविधाका सम्पूर्ण विभागहरू छन्।
ह्याम्स अस्पतालको आइसियूको परिणाम विश्वका अस्पतालहरूसँग तुलना गर्न सकिने समेत अध्यक्ष भण्डारीले बताए। कोभिड-१९ को महामारीमा कोरोना संक्रमित विरामीको उपचार गर्ने यो पहिलो नीजि अस्पताल हो।