नेपाल मदिरा पैठारी संघ (एलआइएएन)ले नेपालमा आयातित मदिराको कमिले निम्त्याउन सक्ने प्रभावबारे चिन्ता व्यक्त गरेको छ।
नेपाल सरकारले कार, मदिरा, सुर्तीजन्य तथा अन्य विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्ध साउन १ गतेबाट ४५ दिनका लागि थप गरेको छ। योसँगै आयातित मदिराजन्य पदार्थहरूमा पनि प्रतिबन्ध लागेको छ। यो निर्णय तत्काल फिर्ता नगरिए यसले प्रतिकुल प्रभाव पार्न सक्ने एलआइएएनको भनाइ हो।
एलआइएएनका अनुसार बोतलबन्द आयातित मदिराजन्य पदार्थहरूमा वार्षिक लगभग एक करोड २० लाख अमेरीकी डलर खपत हुन्छ। जुन नेपाली एक सय ५० करोड बराबर हो। यो वार्षिक बाहिरीने कुल विदेशी मुद्राको ०.१० प्रतिशत मात्रै हुन्छ।
सरकारले बोतलबन्द आयातित मदिराजन्य पदार्थहरूबाट वार्षिक लगभग तीन सय ३० करोड राजश्व प्राप्त गर्छ, जुन वार्षिक बाहिरीने विदेशी मुद्राको दुई गुणाभन्दा बढी हुन्छ।
एलआइएएनका अनुसार हाल उपलब्धताको कमिले बजारमा केही अन्तर्राष्ट्रिय ब्राण्डहरूको नक्कली/डुप्लिकेट सामानको उपलब्धता समेत देखिन थालेको छ। यसले नेपाली समाजमा व्यापक रूपमा जनस्थास्थ्यमा प्रतिकुल असर पार्न सक्ने चिन्ता एलआइएएनको हो। होटल, रेस्टुरेन्ट र बारहरूले ठुलो आय आर्जनको क्षमता समेत गुमाइरहेको एलआइएएनको भनाइ छ।
यसबाहेक बोतलबन्द आयातित मदिराजन्य पदार्थहरूको कमिले नेपाली पर्यटन क्षेत्रमा समेत नकारात्मक असर पर्ने एलआइएएनको भनाइ छ। हाल नेपाल मदिरा पैठारी संघले नेपालमा अन्तर्राष्ट्रिय बियर, वाइन र स्पिरिट ब्राण्डहरू आयात गर्ने आफ्ना सदस्यहरूलाई प्रतिनिधित्व गरिरहेको छ।