सामान आयात–निर्यातका लागि चोभार सुख्खा बन्दरगाह प्रयोग गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले उद्योगीलाई आग्रह गरेका छन्।
२८औं कार्गो दिवसको अवसरमा आयोजित कार्यक्रमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बडुले सरकारले बनाएका पूर्वाधारले अन्तर्राष्ट्रिय व्यापारलाई सघाउ पुर्याउने बताएका हुन्।
'काठमाडौंका व्यापारीलाई लक्षित गरेर चोभार सुख्खा बन्दरगाह बनेको छ। नाकामा एकीकृत जाँच चौकी पनि सञ्चालनमा छन्। क्वारेन्टाइन पनि निर्माण गर्छौं,' मन्त्री बडुले भने, 'सरकारले बनाएका पूर्वाधारले आयात–निर्यातलाई सघाउ पुर्याउँछ।'
आगामी दिनमा चोभार सुख्खा बन्दरगाहमा कार्गो सेवा सुरू हुन्छ भन्नेमा आफू विश्वस्त रहेको मन्त्री बडुले बताए।
कार्गो सेवा महँगो भएकोबारे उद्योगीले उठाएका विषयमा मन्त्री बडुले विश्वव्यापीरूपमा फैलिएको कोभिड तथा रसिया–युक्रेन युद्धका कारण कार्गो लागत बढेको बताए।
कार्गो सेवालाई सस्तो बनाउन सरकारले नीतिगत सबै प्रयास गर्ने समेत उनको भनाइ छ।
कार्यक्रममा उद्योग सचिव अर्जुन प्रसाद पोखरेलले पनि चोभार सुख्खा बन्दरगाह प्रयोग गरिदिन उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्।
'नयाँ संरचनामा केही समस्या होलान्, त्यो हामी समाधान गर्छौं,' उनले भने, 'व्यवसायीका लागि बनाएको पूर्वाधार उनीहरूले प्रयोग गर्नुपर्छ।'
उद्योगी–व्यवसायीको व्यवसाय बढाउन सरकार सधैं हातेमालो गर्न तयार रहेको समेत उनले प्रतिबद्धता व्यक्त गरे।
विश्वव्यापीरूपमा फैलिएको कोभिडपछि बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या उद्योगी व्यवसायीको सबैभन्दा गम्भीर समस्या रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताए।
'कोभिडपछि विस्तारै सबै क्षेत्रको पुनर्उत्थान हुँदैछ,' उनले भने, 'तर तरलता अभाव ठूलो समस्या रहेको छ। यसले अर्थतन्त्रलाई चलायमान हुन दिँदैन।'
सरकारले ल्याएको मौद्रिक नीतिले पनि उद्योगी व्यवसायीलाई सकारात्मक प्रभाव नपार्ने उनको भनाइ छ।
'कसिलो मौद्रिक नीतिले झनै ब्याजदर बढाउँछ। तर यो सरकारले छोटो समयको लागि लिएको निर्णय हो भन्नेमा हामी विश्वस्त छौं,' उनले भने।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले कार्गो व्यवसायले कोभिडको समयमा अर्थतन्त्रलाई चलायमान राख्न सघाउ पुर्याएको बताए।
'कोभिडमा सबै बन्द थियो तर कार्गो विश्वभर चलायनमान थियो,' उनले भने।
कार्गो व्यवसायले आयात–निर्यातलाई व्यवस्थित बनाउन पनि सघाउ पुर्याएको उनकाे भनाइ छ।
कार्यक्रमद्वारा आयात-निर्यातलाई अझै व्यवस्थित गर्न अन्तर्राष्ट्रियस्तरको क्वारेन्टाइन प्रमुख नाकामा राख्न पनि उनले सरकारको ध्यान केन्द्रित गराएका छन्।
'हामी जस्तो पनि आयात गर्छौं,' उनले भने, 'तर निर्यातको समयमा हामीलाई बाधा हुन्छ। अन्तर्राष्ट्रियस्तरको क्वारेन्टाइन प्रमुख नाकामा भए निर्यातमा बाधा आउँदैन थियो।'