शिवम् सिमेन्टले निर्माणकर्मीहरूको दुर्घटना बीमा अन्तर्गतको थप दुई जनालाई दश लाख रुपैयाँ बराबरको मृत्यु बीमा रकम हस्तान्तरण गरेको छ।
निर्माण कार्य गर्दागर्दै दुर्घटनामा परि मृत्यु भएका निर्माणकर्मीहरूका परिवारलाई उक्त रकम बीमा कम्पनीसँग समन्वय तथा आवश्यक प्रक्रिया पूरा गरी उनीहरुको बीमा माग दाबी अनुसार हस्तान्तरण गरेको कम्पनीले बताएको छ।
यसअघि पनि देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरूबाट माग दाबी भए अनुसार कम्पनीले पाँच लाख रुपैयाँ बराबरको मृत्यु बीमा सहित दुर्घटना जोखिम बीमा बापतको रकम हस्तान्तरण गरेको थियो।
दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरूको जोखिमलाई मध्यनजर गर्दै कम्पनीले देशका विभिन्न ५२ स्थानहरूमा रहेका तीन हजारभन्दा बढी निर्माणकर्मीहरूको पाँच लाख रुपैयाँ बराबरको जोखिम बीमा सहित निर्माण सम्बन्धी प्राविधिक अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरेको थियो ।
सोही कार्यक्रममा सहभागी निर्माणकर्मीमध्येबाट पर्न आएको दुर्घटना बीमा माग दाबी बापतको रकम बीमा कम्पनीसँग समन्वय गरी निर्माणकर्मीहरूको घर–घरमा नै गएर कम्पनी प्रतिनिधीहरूले हस्तान्तरण गरेका हुन्।
देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तर्क्रिया कार्यक्रममा कम्पनीले सहभागी हरेक निर्माणकर्मीहरूको लागि पाँच लाख रुपैयाँ बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको थियो ।
कम्पनीले विभिन्न चरणमा आफ्नो बिक्री क्षेत्र अन्तर्गत संखुवासभा, सुनसरी, मोरङ, ओखलढुंगा सिराहा, सप्तरी, महोत्तरी, धनुषा, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, गोरखा, तनहु, बाग्लुङ, बेनी, स्याङ्जा, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर तथा भक्तपुर लगायतका जिल्लाहरूका निर्माणकर्मीहरूको पाँच लाख रुपैयाँ बराबरको जोखिम बीमा गराएको बताएको छ।