बाह्रखरी मिडिया अन्तर्गतको १२खरी बुक्सले चौथो 'बाह्रखरी कथा प्रतियोगिता' को घोषणा गरेको छ।
यस खुला प्रतियोगितामा संसारभरका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरिएको छ।
नेपाली आख्यान साहित्यमा स्थापित साहित्यकारको सम्मान र नवप्रतिभालाई प्रोत्साहित गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो।
यस वर्ष साहित्यकार तथा समालोचक प्रा.डा कुमारप्रसाद कोइराला, साहित्यकार सगुना शाह र उमा सुवेदी निर्णायक समूहमा रहेका बताइएको छ।
प्रतियोगितामा प्राप्त भएका कथामध्येबाट बाह्रखरीको आन्तरिक निर्णायक मण्डलले ५० कथा छानेर ती मध्येबाट निर्णायक समूहले उत्कृष्ट कथा २०७९ पुस्तकका लागि २५ वटा छान्ने र त्यस मध्येबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा गरिने जानकारी दिइएको छ।
प्रतियोगितमा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षजस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिनेछ ।
त्यस्तै, अन्तिम चरणरसम्म पुग्न सफल भएका २५ कथाको पुस्तक प्रकाशन गरिनेछ र संग्रहमा प्रकाशित हुन बाँकी २२ कथालाई जनही पाँच हजार रुपैयाँ सम्मान स्वरुप प्रदान गरिनेछ।
प्रतियोगितामा भाग लिन इच्छुक कथाकारले आफ्नो कथा २०७९ भदौ १४ गतेभित्र 'बाह्रखरी कथा' को इमेल ठेगाना मा पठाउनु पर्नेछ ।
कथा प्रतियोगिताको नतिजा २०७९ असोज ३० गते एक कार्यक्रमबीच सार्वजनिक गरिनेछ। सोही दिन 'उत्कृष्ट कथा–२०७९' को लोकार्पण समेत हुनेछ।
आधुनिक नेपाली कथा क्षेत्रमा कलम चलाउने स्थापित लेखकदेखि नवप्रतिभासम्मले 'बाह्रखरी कथा प्रतियोगितामा' मा भाग लिन सक्ने जानकारी दिइएको छ।
यस कथा प्रतियोगितामा नेपाल इन्भेष्टमेन्ट बैंक र किया मोटर्स प्रायोजक रहेका छन् भने अजोड इन्स्योरेन्स र सिटी एक्स्प्रेस मनि ट्रान्सफर सहप्रायोजक रहेका छन्।