तेस्रो 'कौसी क्वीन–२०७९' प्रतियोगिताका लागि आवेदन खुला गरिएको छ।
बढ्दो शहरीकरणसँगै बढ्दै गएको फोहोर मैला व्यवस्थापनमा ठूलो भूमिका खेल्ने कौसी खेती प्रवर्द्धनका लागि उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रज्ञान क्रियसन प्रालिद्वारा सञ्चालित हलोखबर डटकमले आयोजना गर्दै आएको 'कौसी क्वीन प्रतियोगिता'मा भाग लिनका लागि आगामी भदौ १० गतेसम्म १० मिनेटसम्मको भिडियो (परिचयात्मक) र १० वटा वर्किङ फोटो पठाउनु पर्ने आयोजक संस्थाका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए।
सर्वोत्कृष्ट विजेताले एक लाख ५० हजार रुपैयाँ बराबरको छतमा राख्न मिल्ने जीआई पाइप प्रयोग गरी तयार गरिएको प्लास्टिक टनेल निर्माण गरिदिने अध्यक्ष श्रेष्ठले जानकरी दिए।
त्यस्तै, फस्ट रनरअपलाई एक लाख रुपैयाँ तथा सेकेन्ड रनरअपलाई ७५ हजार रुपैयाँ र थर्ड रनरअपलाई ५० हजार रुपैयाँ बराबरको कौसीमा ग्रीन हाउस निर्माण गरिने छ ।
त्यसैगरी सहभागी हुनेहरूले भाग लिए बापत एक हजार रुपैयाँ बराबरको कौसी खेतीका लागि सामग्री पाउनेछन्।
उक्त प्रतियोगितामा भाग लिनका लागि कौसी खेतीमा काम गर्दै गरेको (वर्किङ) फोटो १० वटा पठाउन पर्नेछ। एउटा आफूसमेत देखिने गरी दुई देखि दश मिनेटसम्मको कौसी बारीको परिचयात्मक भिडियो पठाउनु पर्नेछ।
उक्त भिडियोमा कौसी खेती देखाउँदै कौसी खेतीबारे मल, गोडमेल, स्याहार-सुसारबारे बताउनु पर्ने र फोटोमा क्याप्सन अनिवार्य रूपमा राख्नुपर्ने छ।
फोटो र भिडियो इमेलबाट पठाउन गाह्रो भएमा गुगल ड्राइभ, टेलिग्राम वा हलोखबरको बानेश्वरस्थित अफिसमा लगेर छोडिदिन आग्रह गरिएको छ।
कौसी खेतीको फोटो पठाउनेहरूले नाम, ठेगाना, फोन नम्बर र फेसबुक लिंक अनिवार्य उपलब्ध गराउनु पर्ने बताइएको छ। फोटो पठाउने अन्तिम मिति भदौ १० गतेसम्म छ।
२०७९ भदौ १० गते फोटो र भिडियो हलोखबर डटकमको फेसबुक पेज र यूट्वमा पोष्ट हुनेछ। सबैको फोटो एकै दिन हलोखबरको पेज र ग्रुपमा पोस्ट हुनेछ बताइएको छ।
भदौको अन्तिम साता फाइनल इभेन्ट गरिने हुने र त्यही बेला पुरस्कार वितरण जनाइएको छ।