सहकारी विभागले गौतमश्री बहुउद्देशीय सहकारी संस्थालाई समस्याग्रस्त सहकारी संस्थाका रूपमा घोषणा गर्न सिफारिस गरेको छ।
बचतकर्ताको करिब ५ अर्ब ५० करोड रुपैयाँ बचत जोखिममा पारेर सञ्चालकहरू गायब भएपछि उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सहकारी विभागले सहकारी मन्त्रालयलाई सिफारिस गरेको छ।
गत शुक्रबारदेखि बचतकर्ताहरू विभागमा उजुरी गर्न पुगेका थिए। यो बिहीबारसम्म विभागमा ११ सयभन्दा बढ़ीको उजुरी परेको छ।
हालसम्म करिब १ अर्ब ७५ करोड रुपैयाँको दाबी परेको विभागले उल्लेख गरेको छ। केही बचतकर्ताका अनुसार बचतकर्ताहरूको कुल ५ अर्ब ५० करोड रुपैयाँ सहकारीमा बचत रखिएको थियो।
सहकारी विभागले यसअघि नै सहकारीको सात स्थानमा रहेको सम्पत्ति रोक्का गर्न प्रहरी कार्यालयमा पत्रचार गरेको थियो।
संस्थाको कुलेश्वरमै सुपरमार्केट, हेटौंडामा गोदाम र काभ्रेको पातलेखेतमा गाईफार्म समेत रहेको बताइएको छ।
संस्थाका अध्यक्ष काभ्रेपलान्चोक निवासी रामबहादुर गौतम र उनकी पत्नी निर्मला खत्री गौतमसहित १५ जना सञ्चालक तथा कर्मचारीको बैंक खाता रोक्का गर्न समेत राष्ट्र बैंकलाई विभागले आइतबार पत्राचार गरेको थियो।
संस्थाका सचिव राम गौतम, सदस्यहरू होम कुमारी खत्री, अर्जुन गोतामे, सन्तोषी केसी, सुमित्रा कार्की, भागवती थापा, सुभाष भुसालको पनि बैंक खाता रोक्का गरिएको थियो।
त्यस्तै, संस्थाको लेखा समिति संयोजक सुनिता तिमल्सिना, लेखा समिति सदस्यद्वय पंकजकुमार झा र विकास चौधरी, व्यवस्थापक रबिन विष्ट, ऋण व्यवस्थापक अनिल गौतम, लेखापाल सुनिता सिंह छन्। यी सबैको बैंक खाता रोक्का राखिदिन विभागले पत्राचार गरेको थियो।
सहकारीका सञ्चालकहरू फरार भएको खबर सार्वजनिक भएसँगै एभरेष्ट बैंकले शुक्रबार संस्थाको प्रधान कार्यालय सिल गरेको थियो। त्यससँगै सेयरधनी बचतकर्ताहरूले समेत यसको जानकारी पाएपछि विभागमा पुगेका थिए।