माई पे डिजिटल वालेटले नयाँ विशेषताको रूपमा 'माई पे क्वाइन' सार्वजनिक गरेको छ ।
एक क्वाइन बराबर एक रुपैयाँ नै मूल्य हुने गरी क्वाइन सार्वजनिक गरेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार हरेक कारोबारमा क्वाइन प्रयोग गर्न सकिने यो पहिलो वालेट हो ।
यससँगै माई पे प्रयोगकर्ताहरूले मोबाइल टपअप तथा डाटा प्याकमा ४ प्रतिशतसम्म, टेलिभिजको बिल भुक्तानीमा २ प्रतिशतसम्म, इन्टरनेटको बिल भुक्तानीमा २ प्रतिशतसम्म तथा हवाई जहाजको टिकट बुकिङ गर्दा सबैभन्दा धेरै पैसा रिटर्नको अफरहरू समेत पाउनेछन्।
यसरी फिर्ता आउने रकममा नगद र क्वाइन गरी दुई भागमा बाढिएको कम्पनीको भनाइ छ ।
माई पेबाट एक हजारको मोबाइल टपअप गरेमा चार प्रतिशत (४० रुपैयाँ) फिर्ता हुन्छ। जसमा २० रुपैयाँ क्यासको रूपमा वालेटको मेन ब्यालेन्समा जोडिन्छ भने बाँकी २० क्वाइनको रूपमा जम्मा हुन्छ ।
यसबाट गरिएको सबै कारोबारमा यसरी नै क्वाइन प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।
यसरी प्राप्त भएको क्वाइन ग्राहकहरूले त्यसपछिको जुनसुकै कारोबारमा पनि प्रयोग गर्न सक्नेछन्।
पहिलो कारोबारबाट २० क्वाइन जम्मा भएको छ । अब अर्काे कारोबारको रूपमा एक हजारको कुनै कारोबार गर्दा माई पे वालेटमा तीन वटा विकल्प देखाउँछ।
पहिलो विकल्प छनौट गर्दा वालेटमा भएको ब्यालेन्सबाट कारोबार हुन्छ भने दोस्रो विकल्पको रूपमा वालेटमा बैंक लिंक गरिएको छ भने बैंक खाताबाट सिधै रकम भुक्तानी गर्न सकिने विकल्प देखिन्छ। तेस्रो विकल्पका रूपमा ब्यालेन्स र माई पे क्वाइनलाई मिलाएर कारोबार गर्न सक्ने बताइएको छ।
एक हजार रुपैयाँको बिल तिर्दा ग्राहकले ९८० रुपैयाँ बालेटमा भएको रुपैयाँबाट र २० रुपैयाँ नगद नभइ माई पे क्वाइनबाट भुक्तानी गर्न सक्नेछन्।
यस भुक्तानीपछि पनि ग्राहकले क्यास रिफन्डका रूपमा नगद र माई पे क्वाइन प्राप्त गर्न सक्नेछन् र उक्त क्वाइन निरन्तर प्रयोग गर्दै जान सकिने कम्पनीले जनाएको छ।
यदि प्रयोगकर्तासँग पर्याप्त माई पे क्वाइन नभएको खण्डमा भने तेस्रो विकल्प नदेखिने माइपे ले जनाएको छ। कम्पनीकाअनुसार क्वाइन प्रयोग गर्दा प्रयोगकर्ताले केवाइसी भने भरेको हुनुपर्नेछ ।