मौलिक पहिचानमा गुणस्तरीय गार्मेन्टको नेपाली बजारको आवश्यकता सम्बोधन गर्ने गरी निलन महतले 'भू क्लोदिङ ब्रान्ड' (बिएचयू) ल्याएका छन्।
हाल उक्त ब्राण्डले पुरुषहरूलाई लक्षित गर्दै मुख्यतः चिनो पाइन्ट र पोलो टि–सर्टहरू नेपाली बजारमा ल्याएको छ।
मार्केटिङ क्षेत्रमा लामो समय बिताएका काठमाडौंका निलनले भने, 'म करिब दुई दशकदेखि मार्केटिङ क्षेत्रमा आवद्ध थिए, जहाँ म अरूकै ब्रान्ड बनाउनमा व्यस्त रहे। आफ्नो केही गर्ने सोचमा मैले जीवनको लामो समय बिताएको मार्केटिङ क्षेत्रलाई छोडेर गार्मेन्ट व्यवसायमा होमिए।'
सन् २०१७ मा निलनले गार्मेन्ट कारखानाबाट विभिन्न किसिमको लोकल पोसाकहरू उत्पादन गर्दै थिए। त्यही क्रममा उनलाई मेहनत उत्तिकै लागे पनि अधिकांश लोकल पोसाकको केही पहिचान नभएको कुरा मनमा खट्कियो।
उनले भने 'हामीले आफ्नो मेहनतमा अरूको पहिचान बेचिरहेका छौं। म आफू कर्पोरेट पृष्ठभूमिबाट आएको भएर पनि होला मलाई यो कुरा पटक्कै चित्त बुझ्दैनथ्यो।'
करिब चार वर्ष कपडा उद्योगमा बिताएका निलनले आफ्नो मेहनतलाई नाम दिँदै बिएचयू सिर्जना गरे। तर उनले पुरानै गार्मेन्ट कारखानालाई नयाँ नाम दिएका भने होइनन्। उनी पूर्णतः नयाँ नेपाली ब्रान्ड बनाउनतिर अग्रसर भए।
कपडा उद्योगमा अनगिन्ती प्रकारका पहिरनहरू बन्ने हुनाले केही प्रोडक्टमा मात्र केन्द्रीत हुने निर्णय लिएका उनले कपडाको कुन सेग्मेन्टमा ब्रान्ड बनाउने भनेर उनले आफ्नो साथीभाईहरूको सरसल्लाह, आफ्नो पनि भोगाइ साथै मार्केटको अध्ययन गरेर चिनो पाइन्टमा काम गर्ने निधो गरे।
'अध्ययनको क्रममा नेपालमा मार्केट, खाद्यसामग्री तथा ग्राहक सम्बन्धी भरपर्दो तथ्यांक खोज्दा केही पनि पाइएन। त्यसैले हामीले होलसेल, रिटेल पसलहरू तथा ग्राहकसँग पनि बुझ्यौँ। उहाँहरूसँग कुरा गर्दा बजारमा चिनो पाइन्टको फाइदाहरू बारेमा जानकारी भए जस्तो पाएनौं।' उनले भने 'यसैकारण चिनो पाइन्टको नेपाली ब्राण्डलाई स्थापित गर्नेतर्फ कदम चालेको हूँ'।
चिनो पाइन्टको कपडा, स्टाइल, डिजाइन, फिट, ट्याग लगायतमा लगभग डेढ वर्षको समय बिताएपछि निलनले पाँच हजार पिस चिनो पाइन्ट तथा केही टि–सर्टबाट बिएचयु क्लोदिङ लन्च गरे। यसका लागि उनले ५० लाख रुपैयाँ लगानी गरेको बताए।
बिएचयू क्लोदिङको वेबसाइट तथा इन्स्टाग्राम र फेसबुक पेज मार्फत सुरूमा उनले ब्राण्ड लञ्च गरेका थिए।
अहिले भने अनलाइनका साथै बिएचयू क्लोदिङका प्रोडक्टहरू सिभिल मल, सुरज अर्केड, लोत्से मल, दरबारमार्ग तथा कुमारी पाटी लगायतका पाँच ठाउँमा रिटेल प्लेसमेन्ट गरिएको उनले जानकारी दिए।
'हाम्रो प्रोडक्टमा कपडा, धागो, ट्याग, बटनदेखि जिपर सबै प्रिमियम गुणस्तरका प्रयोग गरेका छौं। साथै, हामीले हाम्रो ग्राहकहरूलाई धन्यवाद नोट सँगसँगै स्टाइल विथ भू बुकलेट पनि प्रदान गर्छौं।' उनले भने।
भूका पहिरनहरू के कस्तो अवसरमा लगाउन सकिने साथै पोसाकको कसरी हेरविचार गर्ने अर्थात कसरी धुने सुकाउने भन्ने बारे उक्त बुकलेटमा सुझाव दिइएको उनले बताए।
बिएचयूको एउटा चिनो पाइन्टको ३३ सय ५० रुपैयाँ पर्छ भने भी नेक टिसर्ट, राउण्ड नेक टिसर्टको १३ सय रुपैयाँ र सर्टसको २३ सय ५० रुपैयाँ मूल्य राखिएको बताइएको छ।
ग्राहकहरूले आफ्नो पहिलो खरिदमा १० प्रतिशत छुट पनि पाउने समेत उनले जानकारी दिए।
'बिएचयूको चिनो पाइन्ट ९७ प्रतिशत कटन टुविल र ३ प्रतिशत स्पन्डेक्सले बनेको हुन्छ।’ उनले भने ‘जसले गर्दा यो पाइन्ट तन्किने, लगाउँदा सहज हुने र नरम हुन्छ।'
बिएचयू क्लोदिङका चिनो पाइन्ट स्लिम फिट र नेपाली पुरुषहरूको हाइट, शरीरको बनाबटलाई ध्यानमा राखी ३०, ३१, ३२, ३४,३६ साइजमा पाइने उनले बताए।
निलनले भने 'हामीले कर्पोरेट सर्कल तथा मध्यम वर्गीय ग्राहकहरूलाई लक्षित गरेका हौं। गुणस्तरीय चिनो पाइन्ट अथवा अरू कुनै लुगा किन्न पर्दा अन्तर्राष्ट्रिय ब्रान्डका आउटलेट नै धाउनु पर्छ भन्ने मान्यतालाई हामी चिर्न चाहन्छौ।'
उनले भने 'एकदमै महँगो अन्तराष्ट्रिय ब्राण्ड भनेको सबैको पहुँच र जीवनशैली बन्न सक्दैन। हामी उस्तै गुणस्तरलाई नेपाली नाममा आम मानिसको पहुँचमा पुर्याउन चाहन्छौं।'
बिएचयू कोल्दिङका पोसाकहरू काठमाडौंमा मात्र नभई पोखरा, बुटवलजस्ता अधिकांश शहरहरूमा पनि पुगिसकेको छ।
आउदो दशैँ तिहारलाई लक्षित गरी निलनले बिएचयू क्लोदिङको नयाँ कलेक्सन पनि लञ्च गर्ने बताए।
उनका अनुसार देशभर ५० वटा रिटेल आउटलेटमा बिएचयू क्लोदिङका पहिरनहरू राख्ने लक्ष्य लिइएको छ।