सेयर खरिद–बिक्री गर्ने व्यक्तिहरूले ब्रोकरको टिएमएसमार्फत खरिद गरेको सेयरको रकम ई-सेवाबाटै भुक्तानी गर्न सक्ने भएका छन्।
सेयर लगानीकर्तालाई रकम भुक्तानी गर्नका लागि थप सहज बनाउनका लागि उक्त सेवा सञ्चालनमा ल्याएको कम्पनीले बताएको छ।
हाल यो सेवा ३५ वटाभन्दा बढी ब्रोकरहरूमा उपलब्ध छ भने केही दिनमै बाँकी ब्रोकरहरूमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।
ई-सेवामार्फत रकम भुक्तानी गर्दा आगामी कात्तिक महिनासम्म कुनै अतिरिक्त शुल्क नलाग्ने बताइएको छ।
लगानीकर्ताहरूले आफ्नो मोबाइलमार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन् भने नजिकको ई-सेवाका जोन पोइन्टमार्फत समेत रकम भुक्तानी गर्न सक्नेछन्।
यो कारोबार रियलटाइममा हुने हुनाले ब्रोकर र लगानीकर्ता दुवैलाई सहज हुने कम्पनीले बताएको छ।
यसका लागि लगानीकर्ताले ई-सेवामा रहेको टिएमएसमा क्लिक गरी फण्ड म्यानेजमेन्टमा जानुपर्ने र त्यसपछि कोलाटरोल (आफूले तिर्ने रकम) उल्लेख गरी पठाउन चाहेको बैंक छानेर सहजै रकम पठाउन सक्नेछन्।
ई-सेवाले हाल एण्ड्रोइड मोबाइलमा ५२ लाख र आइओस् मोबाइलमा करिब १० लाख गरी ६० लाखभन्दा बढी ग्राहकलाई एप्समार्फत सेवा प्रदान गरिरहेको छ।
ई-सेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिने कम्पनीले बताएको छ।