महालक्ष्मी मोबाइल कम्पनीले आइटेल मोबाइलको ब्रान्ड एम्बेस्डरमा क्रिकेटर अमित श्रेष्ठलाई नियुक्त गरेको छ।
नेपाल पुलिस क्लबका २८ वर्षीय ब्याट्सम्यान अमितलाई आइटेलले एक वर्षका लागि नियुक्त गरेको हो।
सम्झौता अवधिमा अमितलाई आइटेलले आवस्यक सम्पूर्ण खेल सामग्री सहयोग गर्ने बताइएको छ।
दायाँ हाते ब्याटर अमितले नेपालको यु–१९ राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका छन् भने बिगत १५ वर्षदेखि नियमित घरेलु क्रिकेट प्रतियोगिताहरू खेल्दै आएका छन्।
उनले २०१३ को एसीसी यु–१९ र यु–१९ एसिया कपमा नेपालको प्रतिनिधित्व गरेका थिए।
अमित क्यानले आयोजना गर्ने सिनियर प्रतियोगितामा लगातार दुई शतक प्रहार गर्ने एक मात्र ब्याट्सम्यान हुन्। उनले वीरगन्जको प्रतिनिधित्व गर्दै २०१२ मा उक्त कीर्तिमान बनाएका थिए ।
फ्रेन्चाइज एभरेस्ट प्रिमियर लिग भने अमितले काठमाडौ किङ्स ११ बाट खेलेका थिए ।
आइटेल कम्पनी सन् २०१७ बाट प्रयोगमा आएको र यो १७ देशमा प्रयोगमा रहेको बताइएको छ।
जसमध्ये अफ्रिकामा सबैभन्दा लोकप्रिय रहेको महालक्ष्मी मोबाइल आइटेलका बिजनेस डेभलपमेन्ट हेड राजेश पौडेलले बताए।
सम्झौतापछि पौडेलले क्रिकेट सबैले रुचाएको खेल भएको कारण सहकार्य गरेको बताए ।
'क्रिकेट सबैले रुचाएको खेल हो, खेलका लागि केही गरौं भनेर नै क्रिकेट खेलाडीलाई सहयोग गरेका हौं, खेलाडीलाई पनि सहयोग होस् र हाम्रो नि प्रचार होस् भनेर सहकार्य गरेका हौं,' पौडेलले भने ।
कम्पनीले सुरुवातमा करिब एक लाख २० हजार रुपैयाँ बराबरको खेल सामग्री प्रदान गर्ने र पछि आवश्यकता अनुसार प्रदान गर्ने उनले जानकारी दिए।