आगामी भदौ २३ र २४ गते चौथो संस्करणको नेपाल पूर्वाधार सम्मेलन हुने भएको छ।
नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा उक्त सम्मेलन हुने भएको हो।
उक्त सम्मेलनको सह आयोजकमा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदाय रहेका छन्।
यातायात, उर्जा, शहरी विकास, खानेपानी तथा सरसफाइलगायत पूर्वाधार विकासका प्रमुख बाधाहरू पहिचान गर्दै विगत तीन वटा पूर्वाधार सम्मेलनको समिक्षा गर्ने, पूर्वाधार विकासका लागि सरकारले गरेका प्रतिज्ञा एवं सुधारहरूलाई उत्प्रेरित गर्ने; पूर्वाधार क्षेत्रमा निजी लगानी आकर्षित गर्ने; दिगो विकास लक्ष्यहरूहासिल गर्न मद्दत गर्ने हरित, जलवायु, उत्थानशील पूर्वाधार परियोजनाहरूलाई प्राथमिकता दिने यस सम्मेलनको उद्देश्य रहेको छ।
यस पटकको सम्मेलनको विषयवस्तु 'विकासका लागि पूर्वाधार' रहेको उक्त सम्मेलनको समुद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ।
सम्मेलनको विशिष्ट अतिथिहरूमा भारतका सडक, यातायात तथा राजमार्ग मन्त्रालयका राज्यमन्त्री विजयकुमार सिंह, अर्थमन्त्री जनार्दन शर्मा, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई, संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडू रहने छन् ।
यसैगरी सम्मेलनको विभिन्न सत्रमा पूर्व प्रधानमन्त्री, सातै प्रदेशका मुख्यमन्त्री, महानगरपालिकाका मेयर, पूर्वाधार क्षेत्रका राष्ट्रिय, अन्तर्राष्ट्रिय विज्ञ, एशियाली विकास बैंकका उपाध्यक्ष, प्राध्यापकहरूको प्रस्तुती हुने बताइएको छ।
सगरमाथा सिमेन्टको मुख्य प्रायोजनमा हुने यस सम्मेलनमा २५ देशबाट ६ सय भन्दा बढीको सहभागिता हुने अपेक्षा गरिएको छ।
नेपाल उद्योग परिसंघले पहिलो नेपाल पूर्वाधार सम्मेलन 'पूर्वाधारमा द्रुतगति लगानी' शीर्षकमा सन् २०१४ मा आयोजना गरेको थियो ।
सन् २०१७ मा आयोजित दोस्रो सम्मेलनको विषय 'निजी क्षेत्र अपरिहार्य साझेदार' र सन् २०१९ को तेस्रो नेपाल पूर्वाधार सम्मेलन दिगो विकासका लागि लचिलो पूर्वाधार' मा केन्द्रित थियो ।