नेपाल पूर्वाधार पत्रकार समाज (सिज) को प्रथम साधारणसभा तथा अधिवेशनले जीवनकुमार बस्नेतको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। संस्थाको मंगलबार भएको प्रथम साधारणसभा तथा अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो।
अध्यक्ष बस्नेत नेपाल पूर्वाधार डट कमका कार्यरत छन्। नयाँ कार्यसमितिको उपाध्यक्षमा अन्नपूर्ण पोष्टमा कार्यरत सुनिता कार्की, सचिवमा नागरिक दैनिकमा कार्यरत हिमाल लम्साल छन्। त्यसैगरी सहसचिवमा आर्थिक अभियान दैनिकमा कार्यरत हिमा विक र कोषाध्यक्षमा बिजमाण्डु डटकममा कार्यरत दिनेश खड्का सर्वसम्मत निर्वाचित भएका हुन्।
सदस्यहरुमा कान्तिपुर दैनिकमा कार्यरत विमल खतिवडा, कारोबार दैनिकमा कार्यरत दिपेन्द्र थापा, राष्ट्रिय समाचार समितिमा कार्यरत संचिता घिमिरे छन्। त्यसैगरी सदस्यमा अर्थ टेलिभिजनमा कार्यरत प्रशन्न ढुंगाना, नेपाल टेलिभिजनबाट प्रशारण हुने पूर्वाधार परिवेश कार्यक्रममा कार्यरत विष्णु परियार र क्यापिटल नेपाल डटकममा कार्यरत शर्मिला न्यौपाने छन्। यस कार्यसमिति आगामी २ वर्षको लागि निर्वाचित भएको हो।
प्रथम साधारणसभाको उद्घाटन सत्रमा निर्वाचन समितिका संयोजक भीमप्रसाद गौतमले आर्थिक समृद्धिको लागि पूर्वाधार क्षेत्रको विकास अपरिहार्य भएको बताए। ‘मुलुकलाई समृद्धिको बाटोमा लैजान पूर्वाधार क्षेत्रको रिपोटिङ अझै गहन र तथ्यपरक रुपमा हुनुपर्छ’ उनले भने। उनले पूर्वाधार रिपोटिङ धेरै प्राविधिक विषय भएकाले पत्रकार आफैले पनि गहन अध्ययन गरेर समाचार संकलन तथा सम्प्रेषण गर्न आवश्यक भएकोमा जोड दिए।
नवनिर्वाचित अध्यक्ष बस्नेतले संस्थाले पूर्वाधार पत्रकारहरुको क्षमता अभिवृद्धिका कामलाई अघि बढाउने बताए। ‘पूर्वाधार क्षेत्रको नीति निर्माणमा बहस पैरवी, पूर्वाधार आयोजना र कार्यक्रम कार्यान्वयनमा खवरदारी गरिनेछ’ उनले भने ।
साधारण सभामा हिमाल लम्सालले सचिवको प्रतिवेदन र दिनेश खड्काले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसअघि १८ माघ २०७८ मा नेपाल पूर्वाधार पत्रकार समाजको भेलाले बस्नेतकै नेतृत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको थियो। संस्थाको विधानअनुसार ६ महिनाभित्रै प्रथम साधारणसभा गर्नुपर्ने व्यवस्थाअनुसार नयाँ कार्यसमिति चयन गरिएको हो। यो संस्था जिल्ला प्रशासन कार्यालय काठमाडौमा २०७८ फागुन ११ मा विधिवत रुपमा दर्ता भएको थियो।