पहाडी जिल्ला लमजुङमा निर्माणाधीन ४२ दशमलव ६० मेगावाटको जलविद्युत आयोजनाको विद्यृत गृह पुग्ने पहुँच सुरूङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ।
सिउरी न्यादी हाइड्रो पावर कम्पनीद्वारा मर्स्याङ्दी गाउँपालिका– ६ स्थित ङादीखोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाले केही दिनअघि ‘ब्रेक थ्रु’ गर्न सफल भएको हो।
आयोजनाका प्रबन्ध निर्देशक दिनेश गुरूङका अनुसार विद्युत गृह निर्माणका लागि आयोजनाले ३८७ मिटर सुरूङ मार्ग निर्माण गर्नाका साथै आयोजनाको निर्माण कार्य हालसम्म ३० प्रतिशत सम्पन्न भएको छ।
विद्युत गृह नाइँचे गाउँनजिकै निर्माण हुन लागेको उक्त आयोजनाको मुख्य सुरूङ खन्ने कार्यसमेत धमाधम अघि बढिरहेको छ।
ड्याम साइडसम्मको २२ किलोमिटर सडकमध्ये करिब डेढ किलोमिटर सडक बनाउन बाँकी रहेको र आगामी दुई महिनासम्म निर्माण सम्पन्न हुने उनले बताए।
प्रबन्ध निर्देशक गुरूङले भने, ‘यतिबेला हेलिकप्टरमार्फत् (एयरलिफ्ट गरी) सामान पुर्याएर बाँध र ड्याम साइडबाट सडक खन्ने र सात किलोमिटरको सुरूङमार्गको काम भइरहेको छ। सुरूङका लागि दुई वटा अडिट टनेलसहित ५०० मिटर खन्ने काम सकिएको छ।
यतिबेला दैनिक निर्माण कार्यमा २४० जना खटिएको आयोजनाले जनाएको छ।
आयोजनाको विद्युत खरिदबिक्री सम्झौता (पिपिए) अनुसार आगामी दुई वर्ष (२०८१ असार) भित्र विद्युत उत्पादन सुरू गरिसक्नुपर्छ । हाई हिमालय र धवलागिरि कन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट प्रालिले निर्माणको ठेक्का लिएको छ।
आयोजनामा एनएमबी बैंकको अगुवाइमा छ वटा वित्तीय संस्थाले रु पाँच अर्ब २५ करोड ऋण लगानी गर्नेछ। प्रवर्द्धकको इक्वीटी (स्व पुँजी) एक अर्ब ७५ करोड रहनेछ।
उक्त बैंक एवं वित्तीय संस्थाको ७५ प्रतिशत र प्रवर्धकको २५ प्रतिशत लगानी रहने आयोजनाले जनाएको छ। करिब रु सात अर्बको लागतमा निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ। आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत गृहदेखि ११ किलोमिटर टाढाको टारीकुनामा निर्माण गरिने १३२ केभी प्रसारण लाइन खुदी सवस्टेसनमा जोडिने भएको छ।
सवस्टेसनसम्मको प्रसारण लाइन आयोजनाले नै निर्माण गर्ने भएको छ। यस आयोजनाका अनुसार वर्षातको छ महिना प्रतियुनिट चार रुपैयाँ ८० पैसा र छ महिनाको हिउँदयाममा आठ रुपैयाँ ४० पैसाको दरले विद्युत् खरिद/बिक्री गरिने भएको छ।