सरकारले विराटनगर र सिमरामा पनि सामाजिक सुरक्षा कोषको शाखा कार्यालय स्थापना गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले बुधबार मन्त्रालयमा एक कार्यक्रमबीच ती दुवै ठाउँमा स्थापना गरिएको शाखा कार्यालयको उद्घाटन गरेका हुन्।
संघीयताको मर्मअनुसार सामाजिक सुरक्षा कोषलाई गतिशील बनाउनका लागि सो कार्यालयको स्थापना र सेवा शुभारम्भ पनि गरिएको मन्त्री कुँवरले बताए।
उनले सो कोषमा आबद्ध हुन पनि सबै रोजगारदाता र योगदानकर्ताहरूलाई आग्रह समेत गरे।
सामाजिक सुरक्षा कोषमा आबद्ध नभएकाहरूलाई सरकारले कानुनी दायरामा ल्याएरै छाड्ने मन्त्री कुँवरको भनाइ थियो।
उनले भने, ‘संघीयताको मर्मअनुसार दुइटा शाखा कार्यालय विस्तार गरिएको हो। र, यो आवश्यकता अनुसार विस्तार गर्दै लगिनेछ। म रोजगार दाताहरूलाई योगदानकर्ताहरूलाई आग्रह गर्न चाहन्छु–सामाजिक सुरक्षा कोषमा आबद्ध होऔं। कतिपय रोजगारदाताहरू, कतिपय घोषित क्षेत्रहरू पनि सामाजिक सुरक्षा कोषमा आबद्ध नभएको हामीले देखेका छौं। सबैलाई कानुन, नियम, विधि, विधान अनुसार कोषको दायरामा ल्याइनेछ।’
मन्त्री कुँवरले योगदानकर्ता र रोजगारदाताहरूको सेवालाई सहज बनाउनका लागि सरकारले आवश्यक अनुसार देशका अन्य जिल्लामा पनि सामाजिक सुरक्षा कोषको शाखा कार्यालय स्थापना गर्ने योजना तय गरेको बताए।
कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले श्रमिकहरूको नजिक रहेर सेवा प्रदान गर्नका लागि कोषको २ वटा शाखा कार्यालय स्थापना गरिएको बताए।