नेपाल विद्युत प्राधिकरण र सशस्त्र प्रहरी बल नेपालवीच विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालन र सशस्त्र प्रहरी बल नेपालका विभिन्न इकाईहरूमा इन्डक्सन चुलोको प्रयोगमा सघाउ पुर्याउनेसम्बन्धी सम्झौता भएको छ।
गैर नविकरणीय ऊर्जा घटाई नविकरणीय ऊर्जा खपत बढाउने उद्देश्यले सो सम्झौता गरिएको हो।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित कार्यक्रमबीच सो सम्झौतामा हस्ताक्षर गरेका हुन्।
कार्यक्रममा सो प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले स्मार्ट चार्जिङको अवधारणा अनुसार सशस्त्र प्रहरी बल नेपालसँग सम्झौता भएको उल्लेख गर्दै ग्यासको खपत घटाउँदै विद्युत उपयोगलाई बढाउँदै लैजाने लक्ष्य अनुरूप प्राधिकरणले काम गरिरहेको बताए।
सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले यस प्रकारको सम्झौता प्राधिकरणसँग मिलेर काम गर्ने उपयुक्त अवसर भएको बताउँदै आगामी दिनमा समेत समन्वय र सहकार्य निरन्तर रहिरहने विश्वास व्यक्त गरे।
सो सम्झौता अनुसार सशस्त्र प्रहरी बलका हाल संचालित २ वटा पेट्रोल पम्प तथा अन्य उपयुक्त स्थानमा गरी कूल १७ स्थानमा चार्जिङ स्टेसन निर्माण गरिनेछ।
सो विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माणमा लाग्ने सम्पूर्ण खर्च नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने छ भने त्यसको सुरक्षा तथा सञ्चालन सशस्त्र प्रहरी बल नेपालले गर्ने सम्झौतामा उल्लेख छ।
इन्डक्सन चुल्हो प्रयोगमा ल्याउन पहिलो चरणमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सबै बाहिनी मुख्यालय, तालिम शिक्षालय, गण र दोस्रो चरणमा सबै गुल्महरूको लागि प्राधिकरणबाट ट्रान्सफर्मर जडानको काम समेत हुनेछ।