भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिब परिवार परिचयपत्र वितरण कार्य सुरू गरेको छ।
महोत्तरी जिल्लाको बर्दीवास नगरपालिका वडा नं. १२ बाट गरिब परिवार परिचयपत्र वितरण कार्य सुरू गरिएको मन्त्री शशी श्रेष्ठले जानकारी दिएकी छन्।
२३ जिल्लाका २१४ स्थानीय तहहरूबाट ११ लाख आठ हजार आठ सय ३६ घर परिवारको तथ्यांक संकलन भइ दुई लाख २३ हजार तीन सय ३० गरिब घरपरिवार पहिचान गर्ने कार्य सम्पन्न भइ परिचयपत्र वितरणको कार्य सुभारम्भ गरिएको हो।
मन्त्री श्रेष्ठले अहिलेको सरकार र मन्त्रालय तल्ला तहका नागरिकलाई रोजगारी सिर्जना गर्ने, सम्मानपूर्वक जीवनयापन गर्ने र नागरिकको जीवनस्तर कसरी उकास्ने भन्नेतर्फ ध्यान केन्द्रीत गरेर काम गरिरहेको बताइन्।
मन्त्री श्रेष्ठले भूमिको उचित प्रयोगका लागि भू–उपयोग नियमावली कार्यान्वयनमा ल्याइएको भन्दै भूमिको समुचित प्रयोग गरेर सहकारीको माध्यमबाट उत्पादन र उत्पादकत्व बढाएर स्वाधिन अर्थतन्त्रको निर्माण गर्ने दिशामा मुलुक अगाडि बढिसकेको बताइन्।
भूमिसँग जोडिएका सबै समस्या आगामी दुई वर्ष भित्र समाधान गर्न सरकार प्रतिबद्ध भएर लागिरहेको भन्दै मन्त्री श्रेष्ठले यही आर्थिक वर्षभित्र तीन सय पालिकाका पाँच लाख भूमिहिनलाई लालपूर्जा वितरण गरिसक्ने जानकारी दिइन्।