काठमाडौंको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टिबिसी) ले तेस्रो 'टिबिसी जब फेयर' आयोजना गर्ने भएको छ।
कलेजले थापाथलीस्थित आफ्नै भवनमा २ सेप्टेम्बरमा उक्त फेयरको आयोजना गर्न लागेको बताएको छ।
कलेजको स्नातक तहमा अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका विद्यार्थी साथै स्नातोकोत्तर तहको एमएस्सी आइटी, इएमबिए, एमबिए तथा एमआइबिएम तहका विद्यार्थीहरू पनि जब फेयरमा सहभागी हुन पाउनेछन्।
जब फेयरमा उत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा विभिन्न क्षेत्रमा काम गर्दै आएका बहुराष्ट्रिय तथा नेपाली कम्पनीहरूको उपस्थिति रहनेछ।
कम्पनीका प्रतिनिधिहरूले टिबिसीमा हाल अध्ययनरत विद्यार्थी तथा पूर्व विद्यार्थीहरूलाई क्षमताको आधारमा कामको अवसर दिनेछन् ।
त्यस्ता कम्पनीहरूमा लिपफ्रग, दराज, द चौधरी ग्रुप, आइएमएस, बियोण्डआइडी, नेपाल पेमेन्ट सोलुसन (डीजीहब), सुबिसु केबलनेट, जिनिएस डिजाइन्स प्रालि, एक्ट ३६०, यति एयरलाइन्स, इसेवा, गेन्स, रिगो टेक्नोलोजी, युनिलिभर, क्लासिक टेक, द आइडिया जार, युएन, लुप नेटवर्क, सुलभ पे, मजेस्टिक मार्केटिङ र द ब्रिटिस कलेज रहेका छन्।
द ब्रिटिस कलेजका एडमिसन तथा मार्केटिङ हेड अमरदिप मण्डलका अनुसार टिबिसीले हरेक वर्ष नेतृत्वदायी भूमिका खेल्दै आइरहेका कम्पनीहरू तथा विद्यार्थीहरूबीचको दूरीलाई नजिक बनाउनका लागि पुलको रूपमा जब फेयरको आयोजना गर्दै आएको बताएको छ।
कलेजका अनुसार जब फेयरमार्फत योग्य विद्यार्थीहरूले कामको अवसर पाउनुको साथै आफ्नो नेटवर्क विस्तार गर्न विशेष अवसर पाउनेछन्।
हाल कलेजमा अध्ययनरत तथा पूर्व विद्यार्थी सबैलाई जब फेयरमा सहभागी हुन कलेजले आग्रह गरेको छ।
सहभागी हुन चाहने विद्यार्थीहरूले सर्वेक्षण फर्म भर्नु पर्नेछ। उक्त फेयरमा आउन चाहने विद्यार्थीहरूलाई कलेजले तालिम समेत प्रदान गर्ने बताएको छ।
विज्ञहरूबाट व्यक्तिगत विवरण (सिभी) बनाउने, तथा क्षमताको बारेमा जानकारी प्रदान गर्ने तथा अन्तर्वार्ताको प्रस्तुति तथा कुराकानीको बारेमा सिकाइने कलेजको भनाइ छ।