माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपालको अर्थतन्त्र सीमित व्यापारिक घरानाको नियन्त्रणमा रहेको औंल्याएका छन्।
पूर्व अर्थमन्त्रीसमेत रहेका पुनले अर्थतन्त्रको ठूलो हिस्सा सीमित घरानाका मुठ्ठीमा रहनुले मुलुकको आर्थिक विकासमा चुनौती खडा गरेको बताए।
जसका कारण आमजनतामा वित्तीय पहुँच असाध्यै कम रहेको उनको भनाइ थियो।
'वित्तीय क्षेत्रमा रहेको स्रोतको ७० प्रतिशत १५ देखि २० व्यवसायिक घरानाले प्रयोग गर्ने गरेका छन्', त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागमा भिजिटिङ प्रोफेसरका रूपमा विद्यार्थीलाई कक्षा लिने क्रममा बुधबार पुनले भने, 'आमजनतामा वित्तीय पहुँच छैन भन्ने यो तथ्यांकले देखाउँछ। यो हाम्रो अर्थतन्त्रका लागि धेरै ठूलो चुनौतीको विषय हो।'
पुनले नेपालको अर्थतन्त्र संकटको डिलमा पुगेको भन्दै समयमै सचेत भएर कदम नचाल्ने हो भने श्रृलंकाको बाटोमा नजाला भन्न नसकिने चेतावनी दिए।
कोरोना महामारीपछि पुनर्कर्जाका रूपमा गएको तीन खर्ब रुपैयाँ घर जग्गा खरिद, पुँजीबजार र सामान आयातमा गएकाले अर्थतन्त्रलाई चाप परेको उनको भनाइ थियो।
यस्तै न्यून पुँजीगत खर्च पनि अर्थतन्त्रको चुनौतीका रूपमा रहेको उनले औंल्याए।
रुस–युक्रेन युद्धपछि पेट्रोलियम पदार्थ र खाद्यान्नमा उच्च मूल्य वृद्धि भएका कारण विश्व अर्थतन्त्र नै प्रभावित भएको र नेपाल त्यसबाट अछुतो नरहेको पुनले प्रष्ट पारे।
युद्धका कारण कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल एक सय ३० अमेरिकी डलरसम्म पुग्दा त्यसको प्रत्यक्ष असरबाट नेपाल प्रभावित भएको उनको भनाइ थियो।
वार्षिक बजेटभन्दा बढी व्यापार घाटा रेमिटेन्स आप्रवाहमा कमी पनि अर्को चुनौती रहेको पुनले औंल्याए।
वैदेशिक सहायता र ऋण बढ्दा समेत गत आर्थिक वर्षमा दुई खर्ब ५५ करोड बराबर शोधनान्तर घाटा देखिनु अर्थतन्त्रका लागि चिन्ताजनक अवस्था रहेको पुनले बताए।
विदेशी मुद्राको सञ्चिती पछिल्लो १० वर्षकै सबैभन्दा कम रहेको पुनले उल्लेख गरे। हाल नेपालसँग छ महिना नौ दिनका लागि मात्र वस्तु तथा सेवाको आयात धान्न सक्ने वैदेशिक मुद्रा सञ्चिती रहेको तथ्यांक उनले प्रस्तुत गरे।
भूकम्पपछिका वर्ष पनि पर्याप्त वैदेशिक मुद्राको सञ्चिती रहेकोमा अहिले निकै घटेको पुनले बताए।
'विदेशी मुद्रा सञ्चितीमा ठूलो ह्रास आएको छ', उनले भने, 'यो हाम्रा लागि धेरै चिन्ताजनक अवस्था हो ।' हाल नेपालको वैदेशिक मुद्रा सञ्चिती २ खर्ब ५५ अर्ब रुपैयाँ रहेको जानकारी उनले दिए।
उनले मुद्रा स्फिती हाल ८.०८ प्रतिशत रहेकामा त्यो अझै बढ्ने अनुमान रहेको बताए।
पुनले पछिल्लो एक वर्षमा नेपालको अर्थतन्त्रको आकारभन्दा बढी १९ खर्बको वस्तु तथा सामान आयात भएको र दुई खर्ब निर्यात भएको भन्दै बढ्दो वैदेशिक व्यापार घाटा सन्तुलन गर्न नसके अर्थतन्त्रले धान्नै नसक्ने अवस्था आउन सक्नेतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिए।
एक वर्षमा विप्रेषण बापत १० खर्ब ७ अर्ब रुपैयाँ भित्रिएकोमा १९ खर्ब रुपैयाँ सामान किन्न बाहिर पठाउनु अर्थतन्त्रको स्वास्थ्यका लागि खराब भएको पुनले सपष्ट गरे।
'१० खर्ब ७ अर्ब विप्रेषणमार्फत बाहिरबाट ल्याएर १९ खर्बको सामान बाहिरबाट किन्ने अवस्था हाम्रो अर्थतन्त्रका लागि ठूलो चुनौती हो', उनले भने ।
पुँजीगत खर्च जम्मा २ खर्ब १६ अर्ब मात्र हुनुले पनि अर्थतन्त्रलाई चाप परेको उनको भनाइ थियो।
प्रशासनिक खर्च सजिलै हुने र पुँजीगत खर्च नहुने रोगको अन्त्य जरुरी रहेको पुनले बताए। 'अर्थतन्त्रलाई चलायमान बनाउने, रोजगारी सृजना गर्ने नै पुँजीगत खर्चले हो। हाम्रो खर्च गर्ने क्षमता असाध्यै कमजोर छ', उनले भने।
यस्तै पछिल्लो समय अवैध हुण्डी तथा क्रिप्टो करेन्सी कारोबार बढेको बताए।
हुण्डी र क्रिप्टो करेन्सीमार्फत रकम बाहिरिएको तथा बाहिरबाट आएको रकम पनि बैंकिङ प्रणालीमा नआएको पुनले उल्लेख गरे।