नेपाल–भारत उद्योग वाणिज्य संघका प्रतिनिधि मण्डलले नेपाल सरकार, अर्थ मन्त्रालयका नवनियुक्त सचिव कृष्णहरि पुस्करसँग भेट गरेको छ।
नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सृजना राणाको नेतृत्वमा उपाध्यक्षद्वय सुनिल केसी, हरकिरत सिंह बेदी, महासचिव रमेश शर्मा, कोषाध्यक्ष कुणाल केयाल, महानिर्देशक केशब मान सिंह तथा उपनिर्देशक मार्शल राठौर सहितको एक प्रतिनिधि मण्डलले सचिव कृष्णहरिसँग भेट गरेको हो।
उक्त भेटमा संघका अध्यक्ष सृजना राणाले नव नियुक्त अर्थ सचिव पुष्करलाई बधाई ज्ञापन गर्दे सफल कार्यकालको लागि शुभकामना व्यक्त गरिन्।
भेटमा राणाले भारत नेपालको अन्तर्राष्ट्रिय व्यापारको दुई तिहाई हिस्सा ओगटेको ठूलो व्यावसायिक साझेदार भएको, त्यस्तै पारबहन सम्बन्धी मामिलामा निर्भरता १० प्रतिशत, नेपालको अन्तर्राष्ट्रिय व्यापारमा पारबहन निर्भरता ९० प्रतिशत, त्यस्तै नेपालमा आएको विदेशी लगानीमध्ये ४० प्रतिशतका साथै २० प्रतिशत पर्यटक भारतबाटै आउने गरेको कारण पनि भारत नेपालको आर्थिक विकासका सहयात्री रहेको बताइन्।
उनले नेपालको व्यापारको मुख्यद्वार रहेको जानकारी गराउँदै नेपालको आर्थिक विकासमा भारतीय सहयोग तथा लगानी आकर्षित गर्न संघले निरन्तर सहजकर्ताको भूमिका निर्वाह गर्दै आएको जानकारी गराइन्।
नेपालमा भारतीय लगानी आकर्षित गर्दै लगानी भित्र्याउनको लागि संघले आफ्नो बृहत्तर कार्यक्रम नेपाल–भारत लगानी सम्मेलनको योजना गरेको र त्यसमा मन्त्रालयको सक्रिय सहभागिता तथा सहयोगको लागि पनि अध्यक्ष राणाले अनुरोध गरिन्।
नेपालको आर्थिक विकासको दृष्टिकोणले तय गरिने हरेक कार्यमा अर्थ मन्त्रालय प्रमुख सरोकारवाला निकाय भएको तथा लगानी तथा व्यापारको दृष्टिकोणबाट संघ पनि प्रमुख सरोकारवाला संस्था भएको कारण मन्त्रालयले भविष्यमा गर्ने हरेक कार्यक्रममा संघलाई पनि समेट्न र सहकार्य गर्न पनि अध्यक्ष राणाले अर्थ सचिवसमक्ष प्रस्ताव गरिन् ।
उक्त भेट तथा छलफलमा नेपाल सरकार, अर्थ मन्त्रालयका नव नियुक्त सचिव पुष्करले संघले गरेका विगतका कार्यहरूबारे आफू जानकार रहेको बताउँदै उक्त कार्यहरूको प्रशंसा गरे।
त्यस्तै, नवनियुक्त अर्थ सचिवले अहिले भारत सरकारले नेपाल प्रति आफ्नो धारणामा परिवर्तन गरेको र नेपालको विकासमा सकारात्मक रूपमा नै हेर्ने गरेको बताए।
भारतबाट हामीले धेरै सिक्न सकिने र भारतसँगको सम्बन्धबाट लिन सकिने लाभहरूमा हाम्रो ध्यान जानुपर्ने बताउँदै आगामी दिनहरूमा मन्त्रालयको तर्फबाट प्रत्यक्ष तथा परोक्ष हरेक प्रकारका सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।