कास्कीको पोखरामा आइतबार ३९ भूमिहीन सुकुम्वासीलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ।
पोखरा महानगरपालिका वडा नं. १४, १९, २८ र ३१ का गरेर ३९ भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिइन्।
उनले कानुनी प्रक्रिया पूरा गरेर राष्ट्रिय भूमिआयोग मार्फत वितरण भइरहेको लालपूर्जा खारेज नहुनेमा ढुक्क हुन सुकुम्बासीलाई आग्रह गरेकी छिन्।
मन्त्री श्रेष्ठले आगामी दुई वर्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गरिसक्ने गरी योजना बनाएर सरकार अगाडि बढेको बताइन्।
उनले भूमिको उचित प्रयोगका लागि भू–उपयोग नियमावली कार्यान्वयनमा ल्याइएको भूमि र भूमिको समुचित प्रयोग गरेर सहकारीको माध्यमबाट उत्पादन र उत्पादकत्व बढाएर स्वाधिन अर्थतन्त्रको निर्माण गर्ने दिशामा मुलुक अगाडी बढिसकेको भन्दै छिटो जग्गाको वर्गीकरण गर्न स्थानीय तहहरूलाई आग्रह गरिन्।
मन्त्री श्रेष्ठले मुक्त हलिया, कमैया, कमलरी र हरवाचरवाको समस्या समाधान गर्न उनीहरूको पहिचान, प्रमाणीकरण गर्ने, कार्यविधि तयार गर्ने र पुर्नस्थापनाको कामका लागि कार्ययोजना बनाएर अगाडि बढिसकेको जानकारी दिइन्।