कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको चलचित्र 'गोर्खा : बिनिथ द ब्रेभरी' को काठमाडौंमा प्रिमियर शो सम्पन्न भएको छ ।
खुकुरी रमको प्रायोजकत्वमा यो चलचित्रको थप प्रिमियर शो पोखरामा सोमबार हुँदैछ भने धरानमा आगामी बुधबार गर्ने कार्यक्रम रहेको बताइएको छ।
निर्माण पक्षका अनुसार 'गोर्खा : बिनिथ द ब्रेभरी' च्यारिटी चलचित्र हो। यो चलचित्रको शोहरूबाट प्राप्त आम्दानी गोर्खा वेलफेयर ट्रस्टलाई प्रदान गरिने यसअघि नै घोषणा भइसकेको छ।
खुकुरी रम प्रमोसनल पार्टनरको रूपमा रहेको यो चलचित्र भदौ २४ गतेदेखि प्रदर्शनमा आउनेछ।
यो चलचित्रमा थापाले जर्मनसँगको युद्धमा बहादुरीका साथ घाइते सैनिक उद्धार गरेको कथा प्रस्तुत गरिएको छ।
काठमाडौंको विशेष शोमा उपस्थित निर्देशक प्रदीप शाहीले आफ्नो कथा आफैँले भन्ने कोशिस गरेको बताए।
जोखिम मोलेर विश्व शान्तिको लागि लड्ने पुर्खाहरूलाई श्रद्दाञ्जली दिन फिल्म निर्माण गरेको उनको भनाइ थियो ।
काठमाडौंमा भएको 'शो'मा कुलवीर थापाका छोरा, बुहारी तथा नातिहरू उपस्थित थिए। शोमा सहभागिता जनाउन बेलायतदेखि कलाकारहरू समिर गुरुङ, गौमाया गुरुङ र स्टुअर्ट वाल्कर नेपाल आएका थिए ।
चलचित्रमा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय छ।
नेपाल प्रदर्शनभन्दा अगाडि फिल्मको युके, अमेरिका, ब्रूनाई, सिंगापुर र अष्ट्रेलियामा स्क्रिनिङ भएको थियो।