राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले लघुवित्तका ऋणीहरूलाई आफूले व्यवसाय गर्न लिएको काममा नै ऋण प्रयोग गर्न आग्रह गरेकी छिन्।
उनले राष्ट्र बैंकले लघुवित्तहरूलाई 'वाच' गरिरहेको समेत बताएकी छिन्।
लघुवित्तका पिता भनेर चिनिने स्वर्गिय डा. हरिहरदेव पन्तको सातौं स्मृति दिवसको अवसरमा हरिहरदेव फाउन्डेसनद्वारा आयोजित एक कार्यक्रममा मंगलबार उनले यस्तो बताएकी हुन्।
लघुवित्तहरूमा रहेको एकै ग्राहकलाई धेरै संस्थाले लगानी गर्ने प्रवृत्ति लगायतका विषयमा कार्यक्रममा उठेको प्रसंगमा तिम्सिनाले यस्तो बताएकी हुन्।
उनले लुघवित्तको कारण महिला सशक्तिकरण, गरिबी न्यूनीकरण, आर्थिक विकास र वित्तीय पहुँच वृद्धिमा सहयोग पुगेकोमा जोड दिइन् 'लघुवित्तले समेटिएका महिलाहरू आर्थिक रूपमा गतिशील भइरहेका छन्, उनीहरू सम्पत्तिको खरिद–बिक्री गर्न सक्नेजस्ता काममा मात्र सबल भएका छैनन्,' तिम्सिनाले भनिन्, 'समुदायमा रहेको विकृति हटाउन समेत लघुवित्त मार्फत् गठित समुदायका महिलाहरू लागेका छन्।'
कार्यक्रममा डा. हरिहरदेव पन्त शैक्षिक पुरस्कार, लघु उद्यमशील पुरस्कार र आर्थिक पत्रकारिता पुरस्कार समेत प्रदान गरिएको छ।