सरकारले पूर्व–पश्चिम राजमार्गको कमला–ढल्केबर–पथलैया सडक चार लेनमा विस्तारका लागि यो वर्ष प्रक्रियाअघि बढाउने भएको छ।
विश्व बैंक र नेपाल सरकारको संयुक्त लगानीमा ‘स्ट्राटेजिक रोड कनेक्टिभिटी एण्ड ट्रेड इम्प्रुभमेन्ट प्रोजेक्ट’अन्तर्गत सडक विस्तार अघि बढाउन लागिएको सडक विभागले जनाएको छ।
सो सडक चार लेनमा विस्तार गर्न लागिएको भए पनि सहरी क्षेत्रमा दायाँ-बायाँ दुवैतर्फ ‘सर्भिस लेन’ थप एक/एक लेनमा निर्माण गरिने र विभिन्न स्थानमा सवारी साधनका लागि ‘अण्डर पास’ तथा ‘ओभर पास’ निर्माण तथा जनावरका लागि सडक पार गर्न संरचना बनाइने विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए।
उनले भने, ‘झण्डै आठ ठाउँमा जनावरका लागि पास बनाइने गरी डिजाइन भइरहेको छ।’
वातावरणीय अध्ययन तथा सर्वेक्षणको काम सम्पन्न भएर सडक तथा पुलहरू डिजाइन भइरहेको छ।
जम्मा १३० किमी लम्बाइको सडकमा झण्डै ७६ पुल निर्माण हुने भएको छ। बागमती, बकैया र कमला खोलामा गरी तीन स्थानमा ‘सिग्नेचर पुल’ निर्माण गरिने भएको छ।
डिजाइनमा नै सवारीसाधन एक सय किमी प्रतिघण्टाका दरले गुड्ने गरी र कतिपय स्थानमा ७५ किमी गुड्नसक्ने छ। सडक विस्तारका लागि जग्गा अधिग्रहण गर्न नपर्ने भए पनि कतिपय स्थानमा भइरहेका संरचना हटाउनुपर्ने हुनसक्ने महानिर्देशक थापाले बताए।
उनले भने, ‘केही पसल र घरका थोरै संरचना हटाउनुपर्ने हुनसक्छ।’
उक्त सडक सन् २०२७ सम्ममा निर्माण गरिने अनुमान गरिएको र यसको लागत अनुमान रु ६४ अर्ब रहेको छ।
सरकारले पूर्वपश्चिम राजमार्गको सबै खण्ड चार लेनमा विस्तार गर्ने गरी प्रक्रिया अघि बढाएको छ। कतिपय खण्डमा निर्माण अघि बढिसकेको छ भने कतिपय प्रक्रियामा छ।
विस्तार भइरहेका सबै खण्डमा सहरी क्षेत्रमा ‘सर्भिस लेन’ निर्माण गर्ने गरी डिजाइन भएको छ। आरक्षण क्षेत्र आसपासका क्षेत्रमा जनावरमैत्री सडक निर्माण गरिने भएको छ।