सेन्चुरी फुड, बेभरेज एण्ड हस्पिटालिटी २०२२ भृकुटी मण्डप, काठमाडौंमा आयोजना हुने भएको छ।
भादौ ३१ गतेदेखि असोज २ गतेसम्म आयोजना हुने उक्त एक्सपो खाद्य, पेय पदार्थ र आतिथ्यतामा विशेष केन्द्रित रहने बताइएको छ।
गत कोरोनाकाल अर्थात् तीन वर्षपछि हुन लागेको यस एक्सपो सबैभन्दा महत्वपूर्ण संस्करण हुने बताइएको छ।
२०१५ को भूकम्प, कोरोना महामारी जस्ता कहालीलाग्दा प्रकोपले देशको सम्पूर्ण क्षेत्रमा ठूलो मात्रामा फेरबदल गर्दछ।
बजारमा कुन–कुन फुड, बेभरेज एण्ड हस्पिटालिटी कम्पनीहरू छन् र हाल के–के गर्दैछन् भनि बुझ्न र उद्योगका सरोकारवालाहरूको बजार रूपान्तरणमा सुरक्षित अवतरण सुनिश्चित गर्न एफबिएच २०२२ कार्यक्रममा भ्रमण गर्न आयोजकहरूले आह्वान गरेका छन्।
एफबिएच २०२२ मा पहिले भन्दा धेरै प्रतिस्पर्धी, सोर्सिङ र सुरक्षित आपूर्तिहरू बारे जानकारी पाउन सकिने भएकाले एफबिएच २०२२ धेरै महत्वपूर्ण भएको आयोजकहरूको दाबी छ।
उक्त एक्सपोले करिब ३० हजार आगन्तुकहरूलाई आकर्षित गर्ने र ती मध्ये १२ हजारभन्दा व्यापारिक आगन्तुकहरू हुने अपेक्षा गरिएको छ।
यसले होटल व्यवसायीहरू, रेस्टुरेन्ट सञ्चालक र प्रबन्धक, क्लब, बार वा पब सञ्चालक, पार्टी प्यालेसका प्रबन्धक, क्यान्टिन सञ्चालक, स्कूल, कलेज, होस्टल र अस्पताल, खाना पकाउने, शेफ, बारटेन्डर, सुपरमार्केट र किराना पसल, स्टोर सञ्चालक, बेकरी, स्न्याक्स र प्रशोधित खाद्य उत्पादक, कृषि प्रशोधन उत्पादकहरूलाई यस एक्सपोले आकर्षित गर्ने आयोजक बताउँछन् ।
यस कार्यक्रम मार्फत् आगन्तुकहरूले खाना, पेय पदार्थ र आतिथ्य उत्पादन तथा सेवाहरूको बारेमा विस्तृत जानकारी पाउने बताइएको छ।
यहाँ करिब ६० प्रतिशत विगत वर्षहरूबाट र बाँकी नयाँ (पहिलो पटक) प्रदर्शकहरू रहने यस एक्सपोमा करिब १५० कम्पनीहरूबाट करिब ५ हजार उत्पादन र सेवाहरू प्रस्तुत गरिनेछ।
यस बाहेक कार्यक्रममा कम्पनीहरूले आफ्नो प्रडक्टको विशेषता, स्किम वा अफर्स, स्वाद आदिको बारेमा विस्तृत जानकारी दिने भएकाले आगन्तुकहरूका लागि नयाँ खाना र पेय पदार्थहरूको स्वाद लिन यो एक उत्कृष्ट अवसर भएको बताइएको छ।
साथै यो कार्यक्रम फुड, बेभरेज एण्ड हस्पिटालिटी बारे अवलोकन गर्न, अन्तर्क्रिया गर्न, भाग लिन वा नयाँ सम्पर्कहरू बनाउन र जानकारी प्राप्त गर्न आगन्तुकहरूको लागि एउटा महत्पूर्ण स्थान हुनसक्ने आयोजक बताउँछन् ।