भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले बुधबार मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा भूमिहीन सुकुम्वासी र भूमिहीन दलित गरी ३६ वटा लालपूर्जा वितरण गरेकी छन्।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङमार्फत कानेपोखरी गाउँपालिकाको वडा नं. ६ का २७ भूमिहीन सकुम्वासी र ९ भूमिहीन दलित घरपरिवारलाई मन्त्री श्रेष्ठले लालपूर्जा वितरण गरेकी हुन्।
मन्त्री श्रेष्ठले यही वर्षभित्रमा गाउँव्लक, पुनःनापी र विशेष नापीबाट बाँकी सम्पूर्ण गाउँव्लकमा लालपूर्जा वितरण गरिसक्ने गरी काम तीव्र पारिएको भन्दै २ वर्षभीत्र भूमिसम्बन्धी सबै खालका समस्या समाधान गरिसक्ने प्रतिवद्धता पूरा गरी छाड्ने बताइन्।
भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई लालपूर्जा वितरणको काम भोट माग्ने र राजनीति गर्नका लागि नभइ नागरिकलाई संविधानमा लिपिबद्ध गरिएका हक कार्यान्वयनका लागि सरकारले गरिरहेको नियमित काम भएकाले निर्वाचन आचारसंहिताले यसलाई छेक्न नहुने उनको भनाइ छ।
अहिलेको अवस्थामा गरिब पहिचान गर्ने र पहिचान भएका गरिब तथा विपन्न घरपरिवारलाई राज्यसुविधा परिचयपत्र दिने र राज्यसुविधा परिचयपत्रलाई संविधानमा नै लिपिबद्ध भएको गरिब तथा विपन्न लक्षित सेवा सुविधासँग आवद्ध गर्ने काम अगाडि बढाइएको उनले जानकारी दिइन्।
भएका स्रोत र साधनको समुचित प्रयोग गरी कृषि योग्य भूमिको उत्पादन र उत्पादकत्व बढाइ सहकारीमार्फत प्रतिस्थापन गर्ने र सम्भव भएसम्म निर्यातलाई प्रवर्द्धन गरेर देशमा रोजगारी सिर्जना गरेर गरिबी निवारण गर्ने गरी योजनाबद्ध रूपमा काम गरिरहेको उनले बताइन्।