फाइब्रो नेपालले आइडियाजार डिजिटलसँगको सहकार्यमा 'रिभ्याम्प नेपाल फेस्टिभ इडिसन' आयोजन गर्दैछ। रिभ्याम्प फेस्टिभ इडिसन प्रदर्शनी र नेटवर्किङ कार्यक्रम हो। यो एक दिने कार्यक्रम भोलि शनिबार ठमेलको छायाँ सेन्टरमा हुँदैछ।
'रिभ्याम्प नेपाल फेस्टिभ इडिसन' मा नेपाली स्टार्टप क्षेत्रमा हाल सक्रिय रहेका कम्पनी, संस्था, उद्यमी तथा सर्वसाधारणको उपस्थिती रहनेछ।
रिभ्याम्प नेपालले सहभागीहरूलाई सम्भावित ग्राहकहरू र साझेदारहरूसँग प्रत्यक्ष सम्पर्क गर्न र उनीहरूसँग कुराकानी गर्न मञ्च प्रदान गर्ने आयोजको भनाइ छ।
आयोजकका अनुसार रिभ्याम्प नेपाल सहभागीहरूलाई आफ्ना उत्पादन तथा सेवाहरूबारे जानकारी दिन र प्रचारप्रसार गर्नका लागि एक राम्रो अवसर हुनेछ। यस कार्यक्रमले महामारीका कारण प्रभाव परेका नेपाली स्टार्छअप क्षेत्रको विकास गर्न मद्दत गर्ने उद्देश्य राखेको छ।
रिभ्याम्प नेपालले यो फेस्टिभ इडिसनभन्दा पहिले पनि तीनवटा यस्तै प्रदर्शनी कार्यक्रमहरू सफलतापूर्वक आयोजना गरिसकेको छ।
कोभिड-१९ का कारण विश्वव्यापी अर्थतन्त्रमा परेको प्रभाव नेपाली उद्यमकर्ताहरुले पनि भोग्नुपरेको छ। नेपाली उद्यम क्षेत्रमा महामारीले ठूलो क्षति पुर्याएको छ। महामारीपछि बजार स्थापित हुने प्रयास गरिरहेको समयमा रिभ्याम्प नेपाल जस्ता कार्यक्रमले उद्यमीहरूलाई हौसला प्रदान गर्छ।
कार्यक्रममा ५५ भन्दा बढी नेपाली स्टार्टपहरूको उपस्थिति रहनेछ। ब्याज नेपाल, आइ एम द गार्डेनर, एपिक ब्याम्स जस्ता थुप्रै स्टार्टपहरूले आ-आफ्नो उत्पादित वस्तुहरू वा आफूले दिने सेवाहरूको प्रदर्शन गर्दैछन्।
प्रदर्शनी कार्यक्रमको उपलक्क्षमा स्टार्टपहरूले मेगा फेस्टिभ अफरहरू, गिभ अवेहरू जस्ता उपहार पनि प्रदान गर्दैछन्।
कार्यक्रमको इ कमर्स पार्टनर 'दराज नेपाल' रहेको छ। त्यसैगरी एजुकेशन पार्टनर 'सनवे कलेज काठमाडौं', लजिस्टिक्स पार्टनर 'उपाय', इन्टरनेट पार्टनर 'सुबिसु', अनलाइन फुड डेलिभरी पार्टनर 'भोज डिल्स', इन्सुरेन्स पार्टनर 'हिमालयन एभरेस्ट इन्सुरेन्स लिमिटेड' लगायत अन्य १३ वटा ब्राण्डहरू आधिकारिक पार्टनरका रूपमा छन्।
'रिभ्याम्प नेपाल फेस्टिभ इडिसन' स्टार्टपहरूको प्रयास र विचारलाई समर्थन गर्नेहरूकालागि निकै उपयुक्त कार्यक्रम हो। प्रदर्शनीमा निः शुल्क जान सकिन्छ। प्रदर्शनीमा पाँच हजार भन्दा बढी आगन्तुक/दर्शकहरूको अपेक्षा गरिएको छ। प्रदर्शनी बिहान १० बजेदेखि बेलुका ७ बजे हुनेछ।