काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सुरू गरेको छ।
चाडपर्वको समयमा बढी भिडभाड हुने र उपभोक्ता ठगिने भएकाले महानगरले चाडपर्व लक्षित अनुगमन सुरू गरेको महानगरले जनाएको छ।
महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा आजबाट चाडपर्व लक्षित बजार अनुगमन सुरू भएको छ।
आजै महानगरले टुकुचास्थित प्रदर्शनीमार्गमा रहेको तरकारी तथा फलफूल बजार र खाद्यन्न पसलहरूमा अनुगमन गरेको छ।
उपेमयर डंगोलकाअनुसार महानगरपालिकाले आजै भाटभटेनी सुपर मार्केटमा पनि अनुगमन गरेको हो।
उपप्रमुख डंगोलको नेतृत्वमा आज तीन वटा समूह बजार अनुगमनका लागि टोली परिचालित भएका छन्।
अनुगमानका क्रममा मिति गुज्रिन लागेका र अरु सामान पनि एकै ठाउँमा राखेको भेटिएको छ।
उनले यस्ता सामान छुट्याएर राख्न आग्रह गर्दै म्याद गुज्रिएका सामान भेटिएको अवस्थामा तत्कालै कारबाही गर्ने बताइन्।
'कुनै पनि पसलमा सामान किन्न जाँदा उपभोक्ताले ठगिएको महसुस गरेको अवस्थामा वा अखाद्य वस्तु बिक्री गरिरहेको भेटिएमा हाम्रो हटलाइनमा खबर गर्न आग्रह गर्दछु' उपमेयर डंगोलले भनिन्।
यसका लागि उपभोक्ताले महानगरको हटलाइन ११८० र १६६००१०५५११ मा खबर गर्न सक्नेछन्।
'हामी यो अनुगमनलाई दसैं अघि र पछि पनि निरन्तरता दिन्छौँ। तपाईंहरूले खबर गरेको आधारमा पनि हामी तत्काल अनुगमन टोली त्यहाँ खटाउछौँ र आवश्यक कारवाही प्रक्रिया अघि बढाउछौँ' उनले भनिन्।
उपमेयर डंगोलले अनुगमनका क्रममा केही पसलमा बिक्रीका लागि राखिएको प्याकेजिङमा उत्पादन मिति प्रष्टसँग नलेखिएको र हातले पुछ्दा सहजै मेटिएको बताइन्।
उनीहरूलाई सचेत गराउँदै प्याकेजिङमा उत्पादन मिति प्रष्टसँग लेखिएको सामान मात्रै बिक्री गर्न महानगरले अनुरोध गरेको छ।
बजार अनुगमनका क्रममा सुलभ पसल, तरकारी, माछा, मासु, दुग्ध पदार्थ, डिपार्टमेन्ट स्टोर लगायत हेरिने महानगरले जनाएको छ।