नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विश्व व्यापार संगठन (डब्लुटीओ) को प्रावधानहरू पालनामा नेपालले सधै उत्कृष्टता हासिल गर्ने भएपनि यसबाट लाभ लिन नसकेको बताएका छन्।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा गोल्छाले यस्तो धारणा रोखका हुन्।
'हामी डब्लुटीओको प्रावधानहरू पालना गर्ने उत्कृष्ट सदस्य भइरहे पनि हाम्रै छिमेकी मुलुकहरूबाट विभिन्न समयमा भएको नाकाबन्दीमा समेत कुनै पहल भएन,' गोल्छाले भने।
उनले भने 'हाम्रा छिमेकी मुलुकहरूले आफ्ना मुलुकमा उत्पादन हुने विभिन्न वस्तुमा अनुदान दिने, निःशुल्क बीमा गरिदिने लगायतका काम गरेर उत्पादन सस्तो बनाएका छन्, हाम्रो त्यस्तो क्षमता पनि छैन्, त्यसैले विश्व व्यापारमा देखिने यस्ता समस्याहरू निराकरणमा यथेष्ट प्रयास हुन जरुरी छ।'
उनले डब्लुटीओको सदस्य राष्ट्र लिएको समयमा नेपालको आयात कुल गार्हस्थ्य उत्पादनको २८ प्रतिशत रहेकोमा हाल ३९ पुगेको, निर्यात ११ प्रतिशत रहेकोमा ५.२ प्रतिशतमा सीमित भएको तथ्यांक पेश गरे।
यो अवधिमा आयात १२ गुणाले बढ्दा निर्यात भने मात्रै तीन गुणाले बढेकोले हामीले यो सदस्यताको उपदेयिता बारे सोच्नै पर्ने उल्लेख गरे।