काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा डब्लुटिओ चेयर प्रोग्राम (डब्लुसिपी)को शुभारम्भ गरिएको छ।
सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा मुख्यसचिव शंकरदास बैरागीले कुसोममा डब्लुटिओ चेयरको उद्घाटन गरेका हुन्।
विश्व व्यापार संगठनका सदस्यहरूको बहुपक्षीय व्यापार प्रणालीमा पूर्ण सहभागीतालाई सहज बनाउने लक्ष्यका लागि डब्लुटिओ चेयर प्रोग्राम (डब्लुसिपी)ले विकासोन्मुख राष्ट्रहरूमा शैक्षिक संस्थालाई वित्तीय तथा प्राविधिक सहायता उपलब्ध गराउँछ।
ती मुलुकले अन्तर्राष्ट्रिय व्यापार कानुन र अर्थशास्त्रको ज्ञान बढाउने उद्देश्य लिइएको हुन्छ। यस्तो कार्यक्रम नेपालमा ल्याउनु गर्वको विषय भएको डब्लुसिपी नेपालका सहअध्यक्ष तथा काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. अच्युत वाग्लेले बताए।
उनका अनुसार डब्लुसिपी आगामी चार वर्ष (सन् २०२२–२०२६) कुसोममार्फत सञ्चालन हुनेछ। जसमा मुख्यतया तीन वटा खम्बामा काम हुनेछन्।
यसभित्र पाठ्यक्रम विकास र शिक्षण, अनुसन्धान र क्षमता अभिवृद्धिको काम हुनेछ।
क्षमता अभिवृद्धिमा तालिम कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय सम्मेलन तथा व्यापारसँग सम्बन्धित सरोकारवाला निकायहरूमा सचेतनाका कार्यक्रमहरू समेत सञ्चालन गरिने भएको छ।
पाठ्यक्रम विकास शिक्षणतर्फ अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित विभिन्न तहमा कोर्षहरू निर्माण गरिनेछन्। व्यापारसँग सम्बन्धित अनुसन्धानका काम समेत यसबीचमा हुने कुसोमले जनाएको छ।
शुभारम्भ कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश पठाएका थिए।
जसमा प्रधानमन्त्री देउवाले डब्लूसीपी नेपाल कार्यक्रमले नेपालको व्यापार र लगानी नीति तर्जुमा गर्न सहयोग गर्ने र जसका माध्यमबाट अन्तर्राष्ट्रिय व्यापारमा नेपालले सामना गर्ने प्रमुख अवरोधमा सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन्।
उनले नेपालले खासगरी आपूर्तिको क्षेत्रमा बढी बाधा भोग्नु परेको समेत उल्लेख गरे। अन्तर्राष्ट्रिय व्यापार यथार्थमा आधारित बनाउन समेत यो कार्यक्रमको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ।
विश्व व्यापार संगठनका उपमहानिर्देशक जियाङ्ग झाङ्गले यस्तो नेटवर्कबाट विचारहरुको अन्तर विजारोपणका साथ ज्ञानलाई बढावा दिई त्यसको अधिक आदान–प्रदान गर्न सहयोग पुग्ने बताए।
कार्यक्रममा मुख्यसचिव बैरागीले शैक्षिक, अनुसन्धानका माध्यमबाट व्यापारको क्षेत्रमा नयाँ–नयाँ सोचको सिर्जना गर्न चेयर कार्यक्रमले भूमिका खेल्ने बताए।
उनले यो कार्यक्रमको सफलताका लागि नेपाल सरकारको दरिलो साथ रहने समेत आश्वान दिए। सन् २००४ मा नेपाल डब्लूटीओको सदस्य बनेको स्मरण गराउँदै उनले नेपाल अन्तर्राष्ट्रिय समुदायको जिम्मेवार सदस्यका रूपमा काम गरिरहेको समेत उल्लेख गरे।
कार्यक्रममा दाता मुलुकका तर्फबाट अष्ट्रियाको डिजिटल तथा आर्थिक मामिला मन्त्रालयका महानिर्देशक सिन्थिया जिम्मरम्यानले शैक्षिक विधेषज्ञताको पुँजीकरणमार्फत क्षमता अभिवृद्धिमा योगदान पुग्ने बताइन् ।
डब्लुटिओ चेयर प्रोग्रामकी शैक्षिक बोर्ड सदस्य डेसिरी भान गोर्पले कुसोममार्फत तोकिएका क्षेत्रमा आक्रामक नतिजा प्राप्त हुने अपेक्षा व्यक्त गरिन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल डब्लूटीआको सदस्य हुँदा नेपालको निजी क्षेत्र सबैभन्दा उत्साहित भएको स्मरण गराउँदै आज त्यसअनुसारको नतिजा नदेखिएको बताए।
काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले डब्लुसिपी नेपालमा आउनु आफैँमा गर्वको विषय भएको बताए।