सञ्चारिका समूहले 'गर्व गरौँ छोरी जन्माउनुमा' भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय बालिका दिवस मनाएको छ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र युएनएफपीको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
दशौंअन्तर्राष्ट्रिय बालिका दिवस, २०२२ 'अब हाम्रो पालो, हाम्रो अधिकार, हाम्रो भविष्य' भन्ने नाराका साथ विश्वभर मनाइँदैछ।
१९ डिसेम्बर २०११ मा भएको संयुक्त राष्ट्रसंघीय साधारणसभाको विशेष प्रस्तावबाट निर्णय भई सन् २०१२ देखि प्रत्येक वर्ष अक्टोबर ११ मा यो दिवस मनाउन थालिएको हो।
समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव यमलाल भुषालले विभिन्न हिसाबले बालिकाहरू हिंसामा परिरहेको भन्दै बालिका माथि हुने हिंसा र विभेदको अन्त्य हुनुपर्नेमा जोड दिइन्।
उनले बालिकामाथि हुने हिंसा र विभेदको अन्त्यका लागि भएका कानुन र नीतिको कार्यन्वयनमा सरकार प्रतिवद्ध रहेको बताइन्। सचिव भुषालले प्रत्येक वर्ष मनाइने यो दिवसबाट प्रतिफल आउने आशा व्यक्त गरिन्।
युएनएफपीका वोन योङ्ग हङ्गले समाज परिवर्तनका लागि आमा शिक्षित भएमा आगामी पुस्ता पनि शिक्षित हँुदै जाने भएकाले बालिकालाई हरेक अवसरमा प्राथमिकतामा राख्नु पर्ने बताए।
मिडिया लैङगिता सम्बन्धि विशेषज्ञ डा. समिक्षा कोइरालाले छोरीको सो पहिचान समाजलाई स्वीकार्य नभए पनि छोरीले आफ्नो पहिचान बनाउनु आजको आवश्यकता भएको बताइन्।
उनले पत्रकार र सञ्चार गृहलाई बालिकाको विषयलाई केन्द्र विन्दुमा राखेर अगाडि बढ्न सके दिवसको औचित्य पुष्टि हुने बताइन्।
कार्यक्रमका कवि स्वप्नील स्मृति, सकुन्तला जोशी र ज्योति वाग्ले छोरीको महत्वलाई दर्शाउँदै कविता बाचन गरे।
कृपाका कार्यकारी निर्देशक आनन्द तामाङले विभेदपूर्ण लिङ्ग छनौट सम्बन्धी राष्ट्रिय रणनीति प्रस्तुत गरे।
उक्त अवसरमा संसारभरी बालिका अधिकारलाई प्रवर्द्धन गर्ने, बालिकालाई संरक्षण गर्ने, बालिकामाथि हुने सबै प्रकारका विभेदको अन्त्य, बाल विवाह, गरिबी, अशिक्षा र विभेदबाट बालिकालाई मुक्त गराउने जागरण अभियान सञ्चालन भइरहेका छन्।
नियमित रुपमा आइरहने बलात्कार, हिंसा, दुव्र्यवहार, विभेद, एसिड आक्रमण, अनलाइन दुव्र्यवहार जस्ता जघन्य घटनाहरूले बालिकाको शिक्षा, स्वास्थ्य, चौतर्फि विकास, संरक्षण र प्रभावकारी सहभागितामा परेको नकारात्मक असरलाई अन्त्य गर्न, देशमा विद्यमान ऐन, कानुन, कार्ययोजना, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यन्वयन गर्न यस दिनलाई विशेष कार्यक्रमका साथ मनाइन्छ।
नेपालको कानुनले २० वर्ष पूरा गरेपछि मात्र विवाहका लागि योग्य उमेर मानेको भएपनि सबैभन्दा बढी बालविवाह हुने दक्षिण एशियाली मुलुकमा नेपाल तेस्रो स्थानमा पर्दछ।
युनिसेफले गरेको एक विश्लेषणमा विश्वभरि कुल ७६ करोड ५० लाख बालबालिकाको बालविवाह भएको उल्लेख छ।
नेपाल एकमात्र दक्षिण एशियाली मुलुक हो जहाँ बालक र बालिकाको उत्तिकै दरले बालविवाह हुने गरेको छ।
त्यसैले यस वर्षको अन्तर्राष्ट्रिय बालिका दिवसमा नेपालले आफ्नो मुख्य विषय बालविवाह अन्त्यलाई मानि विभिन्न कार्यक्रम सञ्चालन गरेको छ।
बालअधिकारका क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाको सहकार्यमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले तीनदिने कार्यक्रमको आयोजना गरेको थियो।
सञ्चारिका समूहले पनि साझेदार संस्थाहरूसँग मिलेर बालविवाह अन्त्यका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ। यसका साथै नेपालमा विद्यमान विभेदपूर्ण लिङ्ग छनौट समस्या रोकथामको लागि सञ्चार अभियानको काम पनि समूहले गर्दै आएको छ।
नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको कार्यक्रममा शिल्पी नाटकघरको पहलमा नाटक मञ्चन गरिएको थियो। नाटकमा छोरी भन्ने थाहा पाएर लिङ्गका आधारमा गर्भपतन गर्नु अपराध हो भन्ने जनचेतनामूलक बिषय समेटिएको थियो।
छोराछोरीबीचको विभेद हटाउन पर्याप्त जनचेतना फैलाउने कामले तीव्रता नलिएसम्म अझै धेरै छोरीहरू जन्मन पाउने छैनन् भन्ने नाटकको सन्देश थियो। सोही अवसरमा यूएनएफपीए र सञ्चारिका समूहले तयार पारेको भिडियो पिएसएहरू पनि देखाइएको थियो।