प्रहरी निरीक्षक आधारभूत तालिम १–१८१औं (पोष्ट ग्याजुएट डिप्लोमा इन पुलिस साइन्स १२औं) समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ।
गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आइतबार दीक्षान्त समारोह सम्पन्न भएको हो।
समारोहमा गृहमन्त्री खाणले तालिममा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक कैलाश लिम्बुलाई कुलानन्द स्मृति पुरस्कार प्रदान गरे।
उक्त पुरस्कार कुलानन्द ठाकुरका दुई छोरा डा. चिरंजीवी नेपाल (पूर्व गभर्नर) तथा ई. आनन्द नेपालद्वारा २०७६ सालमा स्थापित गरिएको हो।
श्री कुलानन्द ठाकुर नेपाल प्रहरी निरीक्षकको पहिलो तथा प्रहरी अधिकृतको तेश्रो ब्याचको सर्वप्रथम भएका थिए।
उक्त पुरस्कार निजको नाममा प्रत्येक पटक प्रहरी निरीक्षक आधारभूत तालिममा सर्वप्रथम हुने उत्कृष्ट प्रशिक्षार्थीलाई दिने भन्ने उद्देश्यले स्थापना गरिएको हो।