थापाथलीस्थित 'द ब्रिटिस कलेज'ले यस पटक पनि 'हल्ट प्राइज'को आयोजना गर्ने भएको छ। यसअघि पनि सफलतापूर्वक कार्यक्रम सञ्चालन गरेको कलेजले यस वर्ष पनि आयोजना गर्न लागेको हो।
हल्ट प्राइज फाउन्डेशनद्वारा स्थापित यस कार्यक्रम उद्यमशीलता, नवप्रवर्तन, र स्टार्ट–अपहरूको क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको छ।
यस कार्यक्रममार्फत सहभागीहरूले आफ्ना सृजनात्मक विचारहरू निर्णायक मण्डलमाझ प्रस्तुत गर्न सक्ने आयोजकले जनाएको छ।
यस कार्यक्रममा मुख्यतः चार चरणहरू हुन्छन्। जसमा अन–क्याम्पस, क्षेत्रीय, ग्लोबल एक्सेलेरेटर र ग्लोबल फाइनल रहेका छन्। यी चरणहरु पार गरेपछि निर्णायकहरूले विजेताको घोषणा गर्नेछन्। विजेताले लगानीको लागि १ मिलियन डलर प्राप्त गर्नेछन्।
हल्ट प्राइज संयुक्त राष्ट्र संघमा आधारित कार्यक्रम हो जुन हरेक वर्ष विश्वविद्यालयस्तरका विद्यार्थीहरूका लागि दिगो विकास लक्ष्यहरू आधारित विभिन्न विषयवस्तुहरूका लागि १२० देशहरूमा आयोजना हुँदै आएको छ। यस वर्षको विषय भने 'रिडिजाइनिङ फेसन' रहेको छ।
यसअघि हल्ट प्राइज फाउन्डेसनद्वारा केन्याको नैरोबीमा आयोजना भएको 'सेन्ट्रल साउथ एशिया प्रोग्राम अफ द इयर' कार्यक्रमको लागि ब्रिटिस कलेजले ग्रिशम तिवारी र सन्दीप यादवलाई छनोट गरी सहभागी हुन पठाएको थियो।
द ब्रिटिस कलेज २०२२–२०२३ को हल्ट प्राइजका लागि प्रज्वलिता विष्ट यस वर्षको पहिलो महिला क्याम्पस निर्देशकमा नियुक्त भएकी छन्। उनीसँग दुई डिसिडी, सन्दीप यादव र सुजित ज्ञवालीसहित २० जना आयोजक समितिका सदस्यहरू रहेका बताइएको छ।
तयारीस्वरुप भदौ २९ गते राष्ट्रिय बाल दिवसको अवसरमा सेन्ट जेभियर्स स्कूलका पूर्व विद्यार्थीहरूसँग यौन दुर्व्यवहारको शिकार भएका बालबालिकाहरूको हेरचाह गर्ने एनजीओलाई सामग्री प्रदान गर्ने उद्देश्यले आर्थिक संकलनमा सहभागीता जनाएको थियो।
साथै, सेप्टेम्बर २७ मा विष्टको अध्यक्षतामा बसेको बैठकले आगामी कार्यक्रमको बारेमा समेत छलफल गरी निर्णय समेत गरेको छ।
निर्देशक विष्टका अनुसार कार्यक्रममा सहभागी हुन इच्छुक टिबिसीका विद्यार्थीहरुले नोभेम्बरको मध्यसम्म आवेदन दिन सक्नेछन्।
इच्छुक सहभागीहरूले तीन देखि पाँच सदस्यहरूको टोली बनाउन सक्नेछन्।
टोलीका सदस्यहरू एउटै विश्वविद्यालयको हुनुपर्ने र एक जना सदस्य भने अर्को संस्थाको हुन सक्ने कलेजले बताएको छ।