भारतीय टाइल्स कम्पनी कजारिया सेरामिक्स र नेपालको प्रसिद्ध व्यापारिक समूह रमेश कर्पबीच नेपालमा टायल्स उत्पादन कम्पनी स्थापना गर्ने सम्बन्धी सम्झौता भएको छ।
उक्त सम्झौता अनुसार कम्पनीले नेपालमा हालकै सबैभन्दा ठूलो टायल्स उत्पादन कम्पनी स्थापना गर्नेछ। जसको वार्षिक उत्पादन क्षमता ८ लाख वर्ग मिटर हुने बताइएको छ।
उक्त सम्झौतामा हस्ताक्षर दुबै समूहको विशिष्ट प्रतिनिधिहरूको उपस्थितिमा काठमाडौंमा सम्पन्न भएको हो।
सम्झौता पत्रमा रमेश कर्पका कार्यकारी निर्देशक प्रतिक जलान र कजारिया सेरामिक्सका अध्यक्ष/प्रबन्ध निर्देशक अशोक कजारियाले हस्ताक्षर गरे।
दुबै कम्पनीको लगानी ५०/५० प्रतिशत हुने र नेपालमै अत्याधुनिक उत्पादन कम्पनी स्थापना गर्न सम्बन्धित कम्पनीको तर्फबाट सम्झौता भएको हो।
सिरामिक र भिट्रिफाइड टायल्स उत्पादन गर्ने नवनिर्मित कारखानाकोे उत्पादन क्षमता ८ लाख वर्ग मिटर हुनेछ र सन् २०२३ को अन्त्यसम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको बताइएको छ।
नव निर्मित कारखाना भविष्यमा आफू निर्यातका लागि तयार हुने र नेपाली बजारको मागलाई पूरा गर्ने परिकल्पनाका साथ स्थापना हुँदैछ। यस बाहेक नेपालमा उपलब्ध प्रमुख कच्चा पदार्थहरू टायल्स उत्पादनमा प्रयोग गरिनेछ।
कजारिया सेरामिक्सका संयुक्त प्रबन्ध निर्देशक अशोक कजारियाले भने, 'नेपाल हाम्रा लागि सधैँ महत्वपूर्ण बजार भएको छ हामी यहाँ दुई दशकभन्दा बढी समयदेखि उपस्थित छौँ र यो कदमले नेपालको बजारमा हाम्रो उपस्थितिलाई अझ बलियो बनाउनेछ।'
उनका अनुसार यो परियोजना तत्काल सुरू गरी आउँदो २०२३ को अन्त्यसम्ममा सञ्चालनमा आउनेछ।
रमेश कर्पका कार्यकारी निर्देशक प्रतिक जलानले भने 'यो एक ऐतिहासिक परियोजना भएकाले यसले देशमा रोजगारी सृजना गर्न महत्वपूर्ण टेवा पुर्याउनेछ। यो उद्योगबाट उत्पादित विश्वस्तरीय टायल्स र अन्य उत्पादनहरू देशमै प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध हुनेछ।'