इन्जिनियर्स भ्लग्सले राष्ट्रियस्तरको इन्जिनियरिङ एक्स्पो २०२२ आयोजना गर्दैछ। उक्त टोलीले आउँदो मंसिर २३ र २४ गते 'अर्बिट इन्जिनियरिङ एक्स्पो' आयोजना गर्ने भएको हो।
दुई दिने उक्त एक्स्पोमा इन्जिनियरिङ, सूचना प्रविधि र विज्ञानका विभिन्न विधाका प्रोजेक्टहरू (परियोजनाहरू) प्रदर्शन हुनेछन्।
एक्स्पोमा रोबो बार, रोबो सकर र रोयल रम्बल जस्ता थुप्रै रोबोटिक्स प्रतियोगिता हुने आयोजकको भनाइ छ। त्यसैगरी सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स, मेकानिकल लगायत विभिन्न विधाका विद्यार्थीले बनाएका प्रोजेक्टहरू पनि प्रदर्शनी गरिने भएको हो।
आयोजकाका अनुसार कार्यक्रममा इन्जिनियरिङसँग सम्बन्धित ८० भन्दा बढी स्टलहरू हुनेछन्। प्रदर्शनीमा सहभागिता जनाउन इच्छुक टोलीले खल्ती एपमार्फत सहभागिता दर्ता गराउन सक्ने समेत आयोजकको भनाइ छ। प्रदर्शनीमा दर्शकहरूको लागि भने प्रवेश नि:शुल्क गराइने छ।
अर्बिट इन्जिनियरिङ एक्स्पोको लागि टोलीले भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, बम्बईसँग सहकार्य गरेको छ। त्यस्तै यसको शीर्षक प्रायोजक हेरल्ड कलेज रहेको छ। उक्त एक्स्पो कलंकीस्थित एड्भान्स कलेज अफ इन्जिनियरिङमा हुँदैछ।
इन्जिनियर्स भ्लग्स योग्य इन्जिनियरहरूको समूह हो। टोलीले सैद्धान्तिक र किताबी विधिहरूभन्दा व्यावहारिक दृष्टिकोणबाट विभिन्न प्राविधिक-सिकाइ पक्षहरू र सीप विकासमा काम गर्दैछ। यसले इन्जिनियरिङमा इच्छुक विद्यार्थीहरूलाई मार्गनिर्देशन दिने लक्ष्य राखेको छ।